यस पटक चुनावको दिन गाडि चलाउन दिने आयोगको निर्णय

Advertisement

काठमाडौं । निर्वाचन आयोगले योग्यता पुगेका सबै उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी मनोनयनका लागि आवश्यक सहजीकरण गर्ने बताएको छ । आयोगले शनिबार पत्रकार सम्मेलन गरी सो कुरा स्पष्ट पारेको हो । 

भोली (आईतबार) आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन हुँदैछ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले त्यसका लागि योग्यता पुगेका हरेकलाई उम्मेदवार मनोनयनका लागि आवश्यक सहजीकरण गर्न निर्वाचन आयोग तयार रहेको बताएका हुन् । 

Advertisement

उनले निर्वाचन कार्यतालिका भने पछि सार्न नसकिने पनि स्पष्ट पारे । थपलियाले उम्मेदवारीको मनोनयनका लागि उम्मेदवारहरुको भौतिक उपस्थिति अनिवार्य नरहेको पनि बताए । दलको आधिकारिक पत्र, वारेशनामा र मतदाता परिचय पत्रको निस्सा भए मनोनयन गर्न सकिने व्यवस्था निर्वाचन अधिकृतको कार्यालयमा गरिएको पनि उनले बताए । 

थपलियाले भने, ‘उम्मेदवारी मनोनयनका लागि आफै जान सक्ने अवस्था रहेन भने पनि आफ्नो वारेस वा प्रतिनिधिमार्फत् गर्न सकिने व्यवस्था गरेको हुनाले उम्मेदवारको भौतिक उपस्थितिको अनिवार्यता कानुनले भनेन् । त्यसकारण हामीले यो कार्यक्रम सूचारु गर्न उपयुक्त ठान्यौं । केही अप्ठ्यारो परेको स्थिति छ भने आयोगले राजनीतिक दलहरुलाई आफ्नो स्रोत, साधन र जनशक्ति प्रयोग गरेर उम्मेदवारको मनोनयन गर्न सकिने व्यवस्था गरेको छ । यसमा कुनै पनि किसिमको अवरोध भयो भने त्यसलाई आयोगले सहजीकरण गर्नका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई भनेको छ । त्यसका लागि दलको आधिकारिक पत्र, वारेशनामा र मतदाता परिचय पत्रको निस्सा भने हुनुपर्नेछ । योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने अधिकारबाट आयोगले बञ्चित गराउनेछैन ।’

निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि २५ जनाभन्दा बढि निर्वाचन अधिकृतको कार्यालयमा नजान पनि राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले सरकारी स्रोत, साधनको प्रयोग गरेर निर्वाचनको प्रचारका लागि आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य ठाउँमा नजान पनि मन्त्रीहरुलाई रोक लगाइएको बताए । 

अन्य निर्वाचन क्षेत्रमा कुनै काम विशेष जान पर्यो भने आयोगको अनुमति अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था निर्वाचन आचारसंहितामा उल्लेख गरिएको उनको भनाई थियो । थपलियाले थपे, ‘कुनै पनि सरकारी वा सार्वजनिक स्रोत, साधन प्रयोग गरेर आफ्नोबाहेक अन्य निर्वाचन क्षेत्रमा जानका लागि आयोगले अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । मन्त्रीहरुको हकमा पनि यो नियम लागू हुन्छ ।’

निर्वाचन आयोगले यो वर्ष भने निर्वाचनको दिन मंसिर ४ गते यातायातको साधन व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि अनुमति दिने भएको छ । ज्येष्ठ नागरिक, अशक्त, मतदान केन्द्रभन्दा धेरै टाढा भएका मतदाताहरुका लागि पनि यातायातको साधन व्यवस्थित ढंगले सञ्चालन गर्न अनुमति दिने निर्णय आयोगले गरेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । त्यसका लागि आयोगले यातायात व्यवस्था विभाग, गृह मन्त्रालय, नेपाल प्रहरीका प्रतिनिधिहरु रहेको कार्य दल गठन गरी त्यसले दिएको सुझावको आधारमा सो निर्णय गरेको हो ।

थपलियाले विगतमा वर्षहरुमा निर्वाचनका दिन नेपाल बन्द आह्वानको दिनजस्तो भएकाले त्यसो हुन नदिन पनि आयोगले यस वर्ष मंसिर ४ गते हुने निर्वाचनका लागि यातायातका साधनहरु संचालन गर्न अनुमति दिने निर्णय गर्नु परेको बताए । उनले भने, ‘ज्येष्ठ नागरिकहरु, अशक्त व्यक्तिहरु, मतदान केन्द्र टाढा छ भने त्यहाँ जानको निमित्त अरु व्यक्तिहरुलाई पनि अप्ठ्यारो पर्ने भएकाले त्यस दिन आवागमनको निम्ति यातायातको व्यवस्थापन गर्न पनि कठिन हुने भएकाले तपाईंहरु सबैको सुझावको आधारमा यो वर्ष यो चुनावमा ४ गतेको दिन हामीले व्यवस्थित ढंगले यातायात सञ्चालन गर्ने भन्ने निर्णय गरेको छौं । त्यसको निमित्त निर्वाचन आयोग, यातायात व्यवस्था विभाग, गृह मन्त्रालय, नेपाल प्रहरी लगायत सम्मिलित एउटा कार्यदल गठन गरिएको छ । त्यसले दिएको सुझावको आधारमा आयोगले उक्त दिन छरपष्ट ढंगले होइन्, व्यवस्थित ढंगले यातायातको साधन संचालनका लागि अनूमति दिन्छ ।’

Advertisement

Advertisement