संघीयता बलियो बनाउन मेरो उम्मेवारीः सिंह, राजनीतिक विकृतिको जञ्जाल तोड्न मेरो उम्मेदवारीः मिश्र

काठमाडौं– १ बाट प्रकाशमान सिंह, रवीन्द्र मिश्र, किरण पौडेल र रमेश खरेलको उम्मेदवारी

Advertisement

काठमाडौं । काठमाडौं क्षेत्र नं. १ मा प्रतिनिधि सभाका उम्मेदवारमा सत्ता गठवन्धनको तर्फबाट प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गरेका छन् भने उनलाई चुनौति दिनेगरी यस पटक पनि रवीन्द्र मिश्र आएका छन् । तर मिश्रले अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका हुन् । 

त्यस्तै, नेकपा एमालेबाट किरण पौडेल र नेपाल सुशासन पार्टीबाट पूर्वएआईजी रमेश खरेलले उम्मेदवारी दर्ता गरेका छन् । अन्य केही साना दल र स्वतन्त्रले पनि यस क्षेत्रबाट उम्मेदवारी दिएका छन् । 

Advertisement

उम्मेदवारी दर्तापछि सिंहले संविधानको मर्म अनुरुप कानूनहरु बनाउनु आफ्नो प्राथमिकता भएको बताए । नेपाली काँग्रेसका नेता सिंहले हालसम्म संविधानको मर्म र भावना अनुसारको संघीय कानूनहरु बनाउन नसकिएको बताउँदै आउने संसदले संविधानको मर्म अनुरुप प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाई कानूनहरु बनाउने बताए । 

सिंहले आफूले स्वास्थ्य तथा पर्यावरणको क्षेत्रलाई पनि ध्यान दिने बताए । उनले जनताको तमाम समस्याहरु सम्बोधन गर्नेगरी कांग्रेस अघि बढ्ने बताए । सिंहले भने, ‘नेपाली जनताले पिरोलिरहेका तमाम समस्याहरु सम्बोधन गर्न सक्नेगरी हामी अगाडी बढ्छौँ । संविधानलाई केन्द्रमा राखेर संविधानको मर्म र भावना अनुसार संघीयताको अधिकार अनुरुप प्रादेशिक सरकार स्थानीयमा जाने अधिकारहरु कम्युनिष्ट सरकारले दिन नसक्दा संघीयताप्रति वितृष्णा छ, कमीकमजोरीलाई हटाएर संविधानको मर्म र भावना अनुसार आवश्यक संघीय कानूनहरु बनाइनेछ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका नेता रवीन्द्र मिश्रले राजनीतिमा देखिएको विकृतिको जञ्जाल तोड्न आफूले उम्मेदवारी दिएको बताए । उनले अर्थ राजनीतिक एजेण्डालाई ओझेलमा पनि पार्न नदिने बताए । 

मिश्रले गुणस्तरीय र निःशुल्क सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई सुनिश्चित गराउनुपर्ने बताए । उनले देशलाई दीर्घकालका लागि शान्त, स्थिर, स्वाधिन, सार्वभौमसत्तासम्पन्न बनाउन र विदेशी हस्तक्षेप रोक्न आफ्नो उम्मेदवारी भएको बताए । 

मिश्रले भने, ‘देशको जुन विकृत राजनीति छ, विकृतिको जञ्जाल छ । त्यो नतोडी भएन । त्यो तोडिएन भनेदेखि यो देश यसैगरी अरु दशकौँ सघ्रिरहने सम्भावना देखेको छु । त्यसकारणले त्यो विकृतिको जञ्जाल तोड्नुपर्छ र यो देशलाई दीर्घकालका लागि शान्त, स्थिर, स्वाधिन, सार्वभौमसत्तासम्पन्न बनाउनुपर्छ । विदेशी हस्तक्षेप बढिरहेको छ । त्यसलाई रोक्नसक्ने क्षमता भएको नेतृत्व हामीसँग छैन ।’

व्यवस्थित शहरीकरण, सम्पदा संरक्षण, व्यवस्थित बाटोघाटो, अतिक्रमित जग्गा र खोलाहरुको खाली गर्ने कुरा र प्रदूषण घटाउने कुरापनि आफ्नो प्राथमिकतामा रहेको उनको भनाई छ ।

नेकपा एमालेका तर्फबाट काठमाडौं–१ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार किरण पौडेलले आफ्नो क्षेत्र देशकै राजनीतिक इपिसेन्टर भएपनि सो अनुसारको अनुभुति गर्न नसकिएकाले आफ्नो उम्मेदवारी परेको बताए । उनले आफू पार्टीको उम्मेदवार भएको भन्दै राष्ट्रियता र स्वाधिनताको मुद्दामा पार्टी स्पष्ट भएकाले आफूहरुले जनताको मत पाउने बताए । 

पौडेलले राष्ट्रियता, स्वाधिनता र समृद्धिको कुरा सदनमा सशक्त रुपले उठाउने बताए । 

त्यस्तै नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दर्ता गरेका रमेश खरेलले हालसम्म सदनमा कानून बनाउने मानिस नगई कानून भत्काउने मानिसहरु गइरहेको टिप्पणी गरे । उनले सदनको प्रतिष्ठा बढाउनका लागि कानून बनाउने मानिस सदनमा पठाउनुपर्ने बताए । 

खरेलले सदनमा संगठित अपराधीहरुको संख्या घटाउन आफ्नो उम्मेदवारी परेको बताए । उनले भने, ‘३३ वर्षसम्म यहाँ ल मेकर कोहीपनि हुनुभएन, सबै ल ब्रेकर भएको हिसावले अब ल मेकर सदनको मर्यादा बढाउनुपर्ने हुन्छ । यहाँ ल मेकरको आवश्यकता छ । ब्रेकरको आवश्यकता होइन । सदनको प्रतिष्ठा बढाउनको लागि, यसको सम्मान बढाउनको लागि, र यो सदनमा संगठित अपराधीहरुको संख्या घटाउनको लागि मेरो उम्मेदवारी हो ।’

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी लिएर उम्मेदवारी दर्ता गराएका पुकार बमले परिवर्तनको लागि आफ्नो उम्मेदवारी परेको बताए । उनले युवाहरु सदनमा आउनुपर्ने भएकाले आफ्नो उम्मेदवार बनेको बताए । 

Advertisement

Advertisement