गठबन्धनले चुनाव नजिते देशले लय समाउँदैनः.महत

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धनको सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्ने दाबी गरेका छन् । 

शनिवार बाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रममा उनले गठबन्धन सरकारले नै देशमा पर्यावरणमैत्री अर्थतन्त्रलाई अघि बढाउने दावी गरे । 

Advertisement

महतले देशमा विद्युत उत्पादनलाई व्यापक वृद्धि गरी निर्यात र खपत बढाउने, परनिर्भरतालाई समाप्त गर्ने, विद्युतमा आधारित ट्रान्सपोटेशन सिस्टम सञ्चालन गरी पेट्रोलियम पदार्थको आयात घटाउने, देशभित्रै उद्योग व्यवसाय बढाउने, पर्यटन प्रवद्र्धन देशभर गर्ने काम गठबन्धनबाट नै सम्भव रहेको बताए । 

उनले देशमा समृद्धिको विकल्प नरहेको भन्दै नेपाली युवाहरु देशभित्रै रोजगारी प्राप्त गर्ने अवसर सिर्जना गर्नुपर्ने पहिलो आवश्यकता भएको बताए । रोजगारीको लागि वैदेशिक निर्भरताको अन्त्य गरी समृद्धिका लागि लगानी बढाउन, लगानीको लागि लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक भएको महतको भनाई छ । 

उनले आगामी निर्वाचन गठबन्धनले जितेमात्रै देशले लय समात्ने दावी गर्दै नजिते लय नसमाउने तर्क गरे । महतले भने, ‘गठबन्धनमा रहेर हामीले निर्वाचन जित्यौँ भने, देशले लय समात्छ । देशमा विद्युत उत्पादनलाई व्यापक वृद्धि गरी निर्यात गर्ने काममा लाग्नेछौँ । अब परनिर्भरतालाई समाप्त गर्ने हो । अब हामी पर्यावरणमैत्री अर्थतन्त्रलाई अघि बढाउने हो । त्यसको लागि अब विद्युतमा आधारित ट्रान्सपोटेशन सिस्टम सञ्चालन गरी पेट्रोलियम पदार्थको आयात घटाउने, देशभित्रै उद्योग व्यवसाय बढाउने, पर्यटन प्रवद्र्धन देशभर नै गर्न आवश्यक छ ।’

महतले संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गठबन्धन बनेको जिकिर गर्दै पार्टीको केन्द्रिय नेतृत्वको नारा संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गठबन्धन हुन आवश्यक भएको बताए । उनले नेपालमा शान्तिको नारा अहिलेको लागि महत्वपूर्ण नरहेको बताए । महतले संविधानमा भएको भावना, मर्मलाई कार्यान्वयन गर्ने चुनौती रहेको बताउँदै पूर्व प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारीताले देश अस्थिरतातिर धकेलिएको आरोप लगाए । 

Advertisement

Advertisement