काठमाडौं–२ वासीलाई ओनसरीको आश्वासन– चुनाव जिते दुई बर्षमा जोरपाटी–साँखु सडक बनाइदिन्छु

Advertisement

काठमाडौं । सत्ता गठवन्धनबाट काठमाडौं–२ की उम्मेदवार तथा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले आफूलाई चुनाव जिताए जोरपार्टी–साँखु सडक बनाइदिने आश्वासन दिएकी छन् । 

आइतबार चुनाव प्रचार कार्यक्रममा क्रममा उनले दुई वर्षभित्रमा जोरपाटी–साँखु सडकखण्ड निर्माण सम्पन्न गराउने बताएकी हुन् । घर्तीले उक्त अवधिमा निर्माण कार्य सम्पन्न गराउन नसके आफूले पदबाट राजीनामा दिने पनि बताइन् । 

Advertisement

उनले साँखु बजार र शालीनदीको पर्यटकीय विकासमा ध्यान दिने पनि बताइन् । घर्तीले जर्सिङपौवालाई संग्रहालयको रुपमा विकास गर्ने बताउँदै दक्षिणढोका, मुलपानी लगायतका क्षेत्रमा हुने डुबानको समस्यालाई समाधान गर्न योजना बनाउने तथा व्यवसायिक तरकारी, फलफूल खेतीको बिस्तार, रोजगारी वृद्धि गर्ने कामलाई उच्च प्राथमिकता राख्ने बताइन् । 

त्यसैगरी, उनले मुलपानीमा निर्माणाधिन क्रिकेट रंगशालाको काम छिट्टै सम्पन्न गराउने, युवालाई रोजगारी र खेलकुदमा जोड्ने कार्यक्रम बनाउने पनि प्रतिवद्धता पनि जनाइन् । घर्तीले भनिन्,  ‘जोरपाटी–साँखु सडकको स्तरोन्नति तथा सम्पन्न गराउने काम जसरी ढिलाई भएको छ, म घोषणा गर्न चाहन्छु आगामी दुई वर्षहरुमा यदि त्यो कार्य मैले सम्पन्न गर्न सकेन भने म राजीनामा गर्छु । नोट गर्नुस् ।’ 

उनले विमानस्थल निर्माणका क्रममा प्रभावितहरुको समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको पनि बताइन् । कोटेश्वरमा हुने जामको समस्यालाई हटाउन आवश्यक पहलकदमी लिने घर्तीको भनाई थियो । काठमाडौं–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेलले उनलाई कडा चुनौति दिएकी छन् । 
 

Advertisement

Advertisement