प्रचण्ड, बाबुराम, केपी, माधव यी कुनै कम्युनिष्ट होइन्नः विजुक्छे, ‘तीस बर्षमा देश विकराल बन्यो’

Advertisement

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताएका छन् । मंगलवार आफ्नो पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले आगामी निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताए । 

ब्यारोमिटरको पारो तल झर्दा आँधीबेरी आउने संकेत भएजस्तै निर्वाचनमा आफ्नो पार्टीको मत माथि भएमा क्रान्तिको सम्भावना छ भन्ने देखाउने बिजुक्छेले बताए । उनले देशमा बिकराल समस्या देखा परिरहेको बताए । विजुक्छेले संसारमा तेस्रो विश्वयुद्धको सम्भावना देखिएको भन्दै निर्वाचनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विषयमा जनतालाई जानकारी गराउने बताए । 

Advertisement

उनले राष्ट्रिय परिस्थितिलाई बिगार्नेहरु को–को हुन् र अन्तर्राष्ट्रिय परिस्थितिमा ठूला दलहरुको दृष्टिकोण र आफ्नो दृष्टिकोणमा के फरक छन् भन्ने विषय लिएर जनताकोमा जाने पनि बताए । विजुक्छेले भने, ‘अहिले हाम्रो विरोध भनेको शासक दलहरु दुईवटा खेमामा विभाजित छन् । तर एउटै सिक्काका दुई पाटा हुन् । तिनीहरु बारम्बार सरकारमा गएको ३० वर्ष भयो । तर देशको समस्या झन् झन् बिकराल र जटिल हुँदै गएको देखा पर्दैछ । त्यसबाहेक साम्राज्यवादीहरु र बिस्तारवादीहरुको साँठगाँठ अन्तर्गत दक्षिण एशिया र नेपालसमेत र संसारमा नयाँ किसिमको तेस्रो विश्वयुद्धको सम्भावना देखिँदै आएको हुनाले हामीले यो निर्वाचनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विषयमा जनतालाई जानकारी गर्ने कुरामा हामी ध्यान दिन्छौँ ।’ 

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले आफ्नो पार्टी देशमा बनेका दुवै गठबन्धनमा जानु गलत सावित हुने भएकाले एक्लै निर्वाचनमा होमिएको बताए । उनले गठबन्धनमा मिसिने कुरालाई फोहोर पानीमा नुहाएर सफा हुन नसकिने भनि टिप्पणी गरे । 

विजुक्छेले गठबन्धनका दलहरुको झुठा कुरा गरेर, जात, क्षेत्रको कुरा गरेर र लोभ लालच देखाएर भएपनि मत लिने मात्रै भएको बताए । मत पाएपछि पुनः सरकारमा गएर गलत सन्धि सम्झौताहरु गर्ने उद्देश्य दुवै गठबन्धनका दलहरुको रहेको उनको भनाई छ । 

उनले भने, ‘हामी निर्वाचनमा दुई, चार मत ल्याउने उद्देश्य भन्दापनि यसलाई जनताको बीचमा, हामीले हाम्रो देशको परिस्थिति र अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा जानकारी गराउनको निम्ति हामीले चुनावलाई प्रयोग गर्दैछौँ । यदी हामीहरु उनीहरुसँगै भएको भएदेखि फोहोर पानीमा नुहाएर हामी सफा हुनसक्छौँ भन्ने कल्पना गर्न सक्दैनौँ । यदी हामीहरु तिनीहरुको दुईवटा समूहमध्ये कुनैपनि समूहमा गएपनि कुरो एउटै भएको हुनाले त्यो गलत सावित हुने भएको हुनाले हामीले त्यो काम रोजेनौँ । दोस्रो कुरा सरकारमा जाने दुईवटै दलले ठूलाठूला समूहले वास्तवमा आ–आफू सरकारमा बस्दाखेरी के राम्रो के नराम्रो काम गरेको त्यो सबै कुरो जनताको सामुन्य भन्ने । अहिलेको समयमा तिनीहरुले भन्न गइरहेका छैनन् । यो घोषणापत्रमा ती कुराहरुको समीक्षा हुन्छ ।’ 

पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, केपी शर्मा ओली र माधव नेपालहरु सच्चा कम्युनिष्ट नभएको विजुक्छेको टिप्पणी थियो । उनीहरु सरकारमा जाँदा कम्युनिष्टले गर्ने काम र निर्णयहरु नगरेको भन्दै उनले यी नेतालाई कम्युनिष्टको दर्जा दिनु नहुने बताए । 

Advertisement

Advertisement