‘प्रदेशहरु खारेज हुनुपर्ने जनमत बढे पनि एमाले शासकीय स्वरुप फेर्नतर्फ लाग्दैन्’

Advertisement

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी संसदीय निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै आफ्नो पार्टीले बहुमत ल्याउने दावी गरेका हुन् । 

सत्तारुढ गठबन्धनले मुलुकको समस्या मात्रै सिर्जना गर्ने जनताको ठम्याई रहेको पौडेलको तर्क छ । उनले सत्तारुढ गठबन्धनको कामकारबाहीलाई हेरेर आम मतदाताले उनीहरुलाई अब सरकारको नेतृत्व दिन सकिँदैन भन्ने अनुभुति गरेको भन्दै अन्य सहयात्री दलहरुको पनि सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाउने र आगामी पाँच वर्ष मुलुक हाँक्ने दावी गरे । 

Advertisement

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका उनले भने, ‘नेकपा एमाले आउने निर्वाचनबाट पाँच वर्षका लागि जनादेश प्राप्त शक्तिका रुपमा सरकारको नेतृत्व गर्ने शक्तिका रुपमा उदाउने छ भन्ने मेरो अटल विश्वास छ । गठबन्धन र यो गठबन्धनका प्रभावहरु, यसका काम कारबाहीका प्रभावहरुले आम मानिसहरुलाई यो गठबन्धनलाई मुलुकको नेतृत्व दिन सकिँदैन भन्ने त्यो अनुभुति दिएको छ । र, मैले आफैं पनि प्रत्येक निर्वाचन क्षेत्रको स्थितिको बारेमा जानकारी लिने गर्छु । मैले १६५ निर्वाचन क्षेत्रको कुरा गर्दाखेरी र समानुपातिकतर्फको कुरा गर्दा हामी प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गर्दा नेकपा (एमाले) दुई तिहाई त म भन्दिन । साधारण बहुमत नेकपा (एमाले) एक्लैले ल्याउने स्थिति छ आजको मितिमा ।’ 

पौडेलले आफ्नो पार्टी निर्वाचनको तयारीमा सबैभन्दा व्यवस्थित ढंगले अघि बढेको पार्टी भएकोसमेत जिकिर गरे । उनले छिटै पार्टी केन्द्रले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने घोषणासमेत गरे । पौडेलले रुपन्देही क्षेत्र नम्बर २ बाट आफू सानदार ढंगले विजयी हुने दावी गरे । 

पौडेलले भने, ‘रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा (एमाले) विजयी हुन्छ, सानदार ढंगले विजयी हुन्छ । र, विगतमा निर्वाचनका नतिजाहरुलाई ब्रेक गर्नेगरी विजयी हुन्छ भन्ने त्यहाँका जनताको ठम्याइ छ । मैले यस बीचमा निर्वाचन क्षेत्रका मतदातासँग, त्यहाँका बुद्धिजीवि, श्रमिक, मजदुर, किसान सबै उद्योगी, व्यवसायी, युवा विद्यार्थी, महिला, दलित विभिन्न अल्पसंख्यक समुदायहरु, जनसमुदाय, मधेसी समुदायका जनसमुदाय, मुस्लिम समुदायका जनसमुदायलगायत सबै विभिन्न जाति, भाषा, धर्म, संस्कृतिका जनसमूदाय सबैसँग भेटेर मैले कुराकानी गरेको छु । उहाँहरुसँग भेटेर कुरा गर्ने क्रममा यही निष्कर्षमा उहाँहरु पुग्नुभएको निस्कर्ष पाएको छु कि मंसिर ४ गतेको निर्वाचनमा हामी नेकपा (एमाले) को तर्फबाट प्रत्यासी रहनुभएका उम्मेदवारहरुलाई विजयी बनाउँछौं भन्ने त्यो मनस्थितिमा, त्यो निस्कर्षमा त्यहाँका मतदाताहरु पुग्नुभएको छ । र, हामी अघिल्ला नतिजाहरुलाई ब्रेक गर्नेगरी त्यो उचाईबाट यस पटक सफलता प्राप्त गर्छौं भन्ने मलाई लाग्छ ।’

उपाध्यक्ष पौडेलले आफ्नो पार्टी शासकीय स्वरुपको विषयमा पुनर्विचार गर्ने पक्षमा नरहेको पनि स्पष्ट पारे । आर्थिक बोझ बनेको भन्दै प्रदेशहरु खारेज गर्नुपर्ने जनमत बढे पनि उनले शासकीय स्वरुप पुनर्विचार गर्ने पक्षमा नरहेको बताए । संविधानको रक्षा र त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुने तर त्यसको शासकीय स्वरुपलाई तत्काल संशोधन गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको पौडेलको भनाई छ । एमालेकै धेरै नेताहरु प्रदेशहरु खारेज हुनुपर्ने पक्षमा देखिएको बेला उनी भने अहिलेकै प्रणालीमा कायम रहने बताएका हुन् । 

पौडेलले संविधानको प्रभावकारी कार्यान्वयननै आफ्नो पार्टीको केन्द्रिय विषय भएको बताउँदै भौतिक पूर्वाधार र मानवीय संशोधनको विकास गरेर मुलुकको समग्र आम्दानीलाई अगाडि बढाउने प्रश्नमा आफूहरु केन्द्रित रहेको पनि बताए । उनले भने, ‘संविधान निर्माण पूर्व शासकीय स्वरुपका प्रश्नमा विषयमा दलहरु आफ्ना आफ्ना मान्यताहरु थिए । र, हामीले पनि आफ्ना मान्यताहरु सार्वजनिक गरेका हौं । त्यस हिसावले छलफल गरेका हौं । र, एउटा निष्कर्षमा पुग्दा हामीहरु विभिन्न दलहरु एउटा साझा सहमतिमा आइपुग्यौं । निस्कर्षमा आइपुग्यौं । र, अहिलेको संविधान जारी भएको छ । र, यो संविधानले यस्तो प्रकारको शासकीय स्वरुप अवलम्वन गर्ने निष्कर्ष अघि सारेको छ । आजको आवश्यकता शासकीय स्वरुपको बारेमा विचार वा पुनर्विचारभन्दा पनि संविधानको रक्षा हो ।’

Advertisement

Advertisement