विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले चुनाव हुन नदिने, ‘भोट हाल्न नजान आव्हान गछौं’

Advertisement

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ गते हुने निर्वाचनको बिरुद्धमा भण्डाफोर अभियान सञ्चालन गर्ने बताएको छ । 

मंगलवार राजधानीमा पत्रकार सम्मेलन गरी सो पार्टीले मंसिर ४ गते हुने निर्वाचनको विरुद्धमा लाग्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै सो पार्टीका स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले कार्तिक ४ गते बसेको केन्द्रिय समितिको दोस्रो पूर्ण बैठकले निर्वाचनलाई सशक्त प्रकारले खारेज गर्ने निर्णय गरेको बताए । 

Advertisement

उनले निर्वाचनको बिरुद्धमा भण्डाफोर, पर्चा वितरण, जुलुस र सभाहरुको आयोजना गरिने बताउँद्यै निर्वाचनमा भाग नलिन जनताहरुलाई अपिल गर्ने बताए । बुढामगरले ‘मंसिर ४ गतेको संघ र प्रदेश सभा सदस्यको निर्वाचनलाई सशक्त प्रकारले खारेज गर्ने निर्णय गर्यो । खारेज अभियान प्रभावकारी बनाउन देशव्यापी रुपले चुनावको भण्डाफोर, वालिङ, पर्चा वितरण, जुलुस, सभाहरुको व्यापक रुपले आयोजना गर्ने साथै जनतालाई लुटेराहरुको चुनावमा भाग नलिन अपिल गर्ने निर्णय लिएको छ । प्रचारात्मक कार्यक्रममा राज्यले दमन गरेका उचित प्रतिरोध गर्ने पनि निर्णय गरिएको छ ।’

चुनाव खारेज अभियानलाई सहयोग पुग्नेगरी केन्द्रिय सामना परिवारबाट सांस्कृतिक अभियान सञ्चालन गर्ने पनि उनले बताए । बुढामगरले बैठकले २९ सदस्यीय पोलिटब्यूरो र ६ सदस्यीय स्थायी समितिको निर्वाचन गरेको, प्रवक्तामा खड्गबहादुर विश्वकर्मालाई नियुक्त गरेको, नवौँ महाधिवेशनसँग सम्बन्धित आर्थिक हिसावकितावलाई कार्तिक मसान्तसम्म केन्द्रित गरेर बन्द गर्ने निर्णय भएको बताए । 

Advertisement

Advertisement