ओलीको दावी– अरुले एकल बहुमत ल्याउन संभवै छैन्, ल्याउनसक्ने हामीले मात्रै हो

Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आसन्न संसदीय निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दावी गरेका छन् । मंगलबार आफ्नो पार्टीको चुनावी घोषणापछि बोल्दै उनले अरु पार्टीका लागि भने एकल बहुमत बिल्कूलै सम्भव नभएको जिकीर समेत गरे । कुल २७५ सिटमध्ये १३८ सिट प्रतिनिधिसभामा आए बहुमत पुग्ने उल्लेख गर्दै ओलीले आफ्नो पार्टीले प्रतिनिधिसभामा १५० सिटको गन्तव्य बनाएर निर्वाचनमा होमिएको बताए । 

एमालेले सरकारमा रहेर गरेका कामहरु जनताले देखेकाले पनि आगामी निर्वाचनमा बहुमत दिने उनको तर्क छ । ओलीले एमालेले आगामी निर्वाचनमा पपुलर मत ५१ प्रतिशत भन्दा बढि ल्याउने पटक पटक दोहोर्याए । 

Advertisement

नेता ओलीले भने, ‘यस संविधानअन्तर्गत अरु पार्टीहरुका लागि एकल बहुमत ल्याउन बिल्कूलै असम्भव छ । तर सम्भव नै नहुने होइन । बहुमत आउन त सम्भव नहुने कसरी भयो र ? २७५ सिट छ । त्यसमध्ये १३८ आएपछि त बहुमत हुन्छ । अहिलेको हाम्रो मिसन १५० हो । १५० गन्तव्य । १५० सिटको गन्तव्य राखेर त्यो टार्गेट छुनेगरी हामी निर्वाचन अभियानमा गएका छौं ।’ 

उनले थपे, ‘नेपाली जनताले नेकपा एमालेको गरेको  कामहरु देखेको छ । विकासहरु देखेको छ । टनेल युगमा नेपाललाई प्रवेश गराएको देखेको छ । अन्तरिक्षमा सानो भए पनि सेटलाईट पठाएको देखेको छ । अन्तरिक्षमा हाम्रो सेटलाईट राख्ने स्थान हामीले सुरक्षित गरेका छौं । हामीले पानी जहाजको कुरा गर्दा मजाक उडाउनेहरु घोषणा पत्रमा पानी जहाज अघिल्लै चुनावमा राखेर छाप्न बाध्य भए । रेलको कुरा गर्दा मजाक उडाउनेहरुले अस्ति म आफैं गएर रेल चढेर आएको देखेर आश्चर्य चकित भए होला । दुई सयदेखि पाँच सयसम्म लाग्ने ठाउँमा अहिले ३५ रुपियाँमा हामी सजिलै पुग्छांै । किनभने रेलको भाडा ३५ रुपिया मात्रै छ भनेर त्यहाँका जनप्रतिनिधिहरुले बोलेको सुनेहोला । यो सबै चिज एमालेले गरेको देखेको छ । अव ११० सिटमा अथवा पपुलर मतमा, लोकप्रिय मतमा नेकपा एमालेलाई ५५ सिट दिए, ५६ सिट दिए अथवा ५१ प्रतिशत भोट दिए त पुगिहाल्छ । ५१ प्रतिशत भोट नेकपा एमालेलाई दिँदैन भन्ने कुरो कसरी हुन सक्छ ? अर्को कुरा, ८३ सिट जति चाहिन्छ । १६५ प्रत्यक्षतर्फको निर्वाचनमा । ११० सिटसम्म एमालेलाई दिँदा के बिग्रन्छ ? राम्रो हुन्छ नि त । स्थिरतामा हुन्छ देशमा । स्थायित्व हुन्छ । त्यो जनताले बुझेको छ ।’ 

ओलीले पार्टीले सार्वजनिक गरेको चुनावी घोषणा पत्रको प्रतिवद्धताहरु पूरा गर्नका लागि ल्याइएको दावी गरे । आफ्नो चुनावी घोषणा पत्रलाई अन्य पार्टीहरुले झैं निरर्थक चर्चाको विषय नबनाएको उनको जिकिर छ । ओलीले भने, ‘हामी रेम्पोन्सिबल भएर यसको भुक्तानी गर्न तयार छौं । आफ्नो बचन, बचन मात्रै होइन, यो एक्सनका लागि हो । त्यसकारण हामो कमिटमेन्ट एक्सनका लागि हो ।’ 

करिव २० हजार शब्दको घोषणा पत्रमा निर्वाचन जितेपछि मुलुकको समृद्धिका लागि एमालेले गर्ने कामहरुबारे चर्चा गरिएको छ जसमा महिलालाई महिनावारी हुँदा सेनिटरी प्याड किन्न बार्षिक एक हजार पाँच सय रुपियाँ दिने कुरा पनि उल्लेख गरिएको छ । 

Advertisement

Advertisement