‘धरहरा पुनर्निर्माणपछि विरोधीहरुको मुटुमा सुइरो रोपियो’

विकासको मुल फुटाउन पुनः एमालेले जित्नुपर्ने ओलीको जिकिर

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने जिकिर गरेका छन् । बुुधवार काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा उनले यस पटक नेकपा एमाले बाहेकको राष्ट्रिय शक्ति जनताले बनाउनु नहुने बताए । 

आगामी निर्वाचनमा नेकपा एमालेलाई देशको राष्ट्रिय शक्ति नबनाए देशले दुर्भाग्य खेप्नुपर्ने भन्दै ओलीले अहिलेको सत्ता गबठन्धनले नै पुनः देशको नेतृत्व गरेको खण्डमा देशको विकास सम्भव नरहेको जिकिर गरे । उनले गठबन्धन सरकार सर्वोच्च अदालतको परमादेशबाट बनेको र जालीकीर्ते गरेर बनाइएको सरकारले निरन्तरता पाउनु नहुने बताए । 

Advertisement

नेता ओलीले सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउने हो भने संसद र निर्वाचनको अर्थ के हो ? भन्दै प्रश्नसमेत गरे । परमादेश जारी गरेसँगै अदालतको अवस्था बेहाल भएको उनको भनाई छ । 

ओलीले भने, ‘यसपल्ट नेकपा एमालेबाहेक अर्को त्यस्तो राष्ट्रिय शक्ति छैन् । त्यो राष्ट्रिय शक्ति निर्माण गर्न जरुरी छ । देशका लागि  राष्ट्रिय शक्ति निर्माण गर्न एकदमै जरुरी छ । अहिले राष्ट्रिय शक्ति बनाइएन भने, एकल बहुमत आएन भने देश दुर्भाग्यमा जानेछ । दुर्भाग्य भोग्नुपर्छ । फेरि कथम कदाचित यिनै मान्छेहरु, यिनीहरु अहिले जनताले छानेका होइनन्, संसदले छानेको होइन, यी परमादेश लिएर जाली कीर्ते ढंगले, मुद्दा सबैभन्दा बढी जाली, कीर्तेहरुले जित्ने हो नि । यी त जालीकीर्ते हुन् । सरकार बनाउने संसदको कुरा अदालतमा लगेर मुद्दा जितेर ल्यायौँ, भनेर प्रधानमन्त्री अदालतले हटाउँछ । संसदको के काम ? प्रधानमन्त्री अदालतले नियुक्त गर्छ । चुनावको के काम ? संसदको के काम ? नेपालको अदालतको हालत देख्दा अचम्म लाग्छ । त्यसदिन यता अदालत बेहाल अवस्थामा छ ।’

उनले विकासको मुल फुटाउने कामको नेतृत्व युवा र नेकपा एमालेले गर्ने जिकिर गर्दै एमालेको समर्थन गर्न आग्रह गरे । ओलीले अहिलेको सत्ता गठबन्धनको सरकारलाई अलछिना सरकारको संज्ञा दिए । उनले देश बिगार्न नदिनको लागि एमालेमा नै भोट हाल्नुको विकल्प नरहेको उल्लेख गर्दै पुर्खाको बलिदानलाई लत्याउनु नहुने बताए । 

नेता ओलीले यतिबेला देशबिरोधी तत्वहरु सक्रिय भइरहेको भन्दै आगामी निर्वाचनमा एमालेललाई बहुमतले जिताएर स्थायीत्व कायम गर्न लाग्नुपर्ने बताए । उनले आफ्नो पार्टीको सरकारले भूकम्पपछिको सफल पुनर्निर्माण गरेको र  काठमाडौंमा पुनः निर्माण गरिएको धरहराले आफ्ना बिरोधीहरुको मुटुमा सुइरो रोपिएको भन्दै कटाक्ष गरे । 

Advertisement

Advertisement