सञ्चारमन्त्री कार्कीप्रति मतदाताको असन्तुष्टि– आश्वासन दिए, फर्किएर आएनन्

Advertisement

सुनसरी । चार वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा यसपटक सबैभन्दा बढी चासोका रुपमा निर्वाचन क्षेत्र नम्बर ४ लाई हेरिएको छ । यो क्षेत्रमा हुन लागेको दुई हेभिवेट नेताको चुनावी भिडन्तले समग्र जिल्लाकै ध्यान खिचेको छ । 

सुनसरी– ४ मा सो क्षेत्रबाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा काँग्रेसबाट सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्की चुनावी मैदानमा छन् । 

Advertisement

अघिल्लो निर्वाचनमा भोजपुरबाट सुनसरी झरेर विजयी बनेका कार्कीले सुनसरी ४ बाट पुनः आफ्नो उम्मेदवारी दोहोर्याएका छन् । यद्यपि, सो क्षेत्रका आम मतदाताहरु मन्त्री कार्कीको गत चुनावपछिका कामबाट सन्तुष्ट छैनन् । यसकारण पनि कार्कीलाई आसन्न निर्वाचनमा जित्न सहज छैन कि ? एमाले नेता जगदीश कुसियैत स्थानीय नेता हुनुहुन्छ जो कार्कीका प्रतिस्पर्धी हुन् । 

कोशी गाउँपालिकाको साबिक श्रीपुर घर भएका कुसीयैत बाबु बाजेको विरासत धान्दै अघि बढेका र समुदायमासमेत मजबुत पकट भएको व्यक्ति भएकाले कार्कीका लागि ठूलो चुनौति बन्ने देखिन्छ । 

अघिल्लो पटक एमालेले कमजोर प्रतिद्वन्दी दिएकाले कार्कीका लागि जित सहज देखिएको स्वयं कांग्रेसी नेता, कायकर्ताहरुको भनाइ छ । यस पटक भने स्थानीय उम्मेदवार उठाएको एमाले र उसको जनता समाजवादी पार्टीसँगको तालमेलले मन्त्री कार्कीका लागि आसन्न निर्वाचन सहज देखिँदैन । 

एक लाख २८ हजार ६५ जना मतदाता रहेको सुनसरी ४ मा कोशी गाउँपालिकाका सबै वडा, बराहक्षेत्र नगरपालिकाको ६,७,८,९,१० र ११ सहित रामधुनीको ४ नम्बर वडा पर्दछ । त्यसैगरी इनरुवाको ३,४ र ८ नम्बर वडा पर्छ भने भोक्राहा गाउँपालिकाको सबै वडा र हरिनगरको १,२,४,५,६ र ७ नम्बर पर्दछ । मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा दुवै उम्मेदवारका तर्फबाट स्वतन्त्र उम्मेदवार उठाइए पनि डाक्टर खालिद हुसेनले ल्याउने मत कार्की र कुसियैत दुवैका लागि निर्णायक सावित हुने चर्चा हुने गरेको छ । 

जसकारण समेत आम मतदाताले मंसिर ४ गतेको निर्वाचन रोचक हुने आँकलन गरेका छन् । यद्यपी, मतदाता माझ पार्टीगत धारणा उम्मेद्वार अनुकुल देखिएपनि पाँच वर्र्षे अवधिमा भएका विकास निर्माणप्रति उनीहरु खासै सन्तुष्ट भने छैनन् । 

स्थानीयहरु भन्छन्, हात्तीको समस्या ठूलो छ, गत निर्वाचनमा समस्या समाधान गर्ने आश्वासन दिए तर काम भएन । निर्वाचन जितेपछि एकपटक पनि यहाँको समस्या समाधानका लागि नेताहरु आएनन् । उक्त क्षेत्रमा कोशीको मुआब्जा, आशातित विकास निर्माण नहुनु, सञ्चारमन्त्रीको क्षेत्रमा नेटवर्क समस्याको समाधान नहुनेले जनता निराश मात्रै छैनन्, कार्कीसँग आक्रोशित पनि छन् । 

न्युज एजेन्सीका संवाददाताहरु सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ मा पुग्दा स्थानीयहरुले नेताहरुबिरुद्ध ठूलो आक्रोश पोखे । ‘जुन नेताहरु आएपनि हुने केही होइन, जनतालाई भेडाबाख्रा बनाउने काम भएको छ’ एक स्थानीयले भने, ‘बाढीको समस्या कति छ, छ, कसैले समाधान गर्न खोजेन, आश्वासन मात्रै हो, चुनावका बेला चहलपहल हुन्छ, जितेपछि कोही फर्किएर आउँदैन ।’ 

त्यसका अलावा जंगली जनावर नियन्त्रणका लागि ठोस योजना सञ्चालनमा ल्याउन नसक्नु, वाचा अनुसारको काम हुन नसकेको र पार्टीका सिमित व्यक्ति काखी च्यापेर हिँड्ने गरेको भनेर नेता उपर लाग्ने गरेको ट्याग यस पटकको मत परिणामकालागि निर्णायक बन्नसक्ने आँकलन धेरैको छ ।  

जसलाई यस पटक सो क्षेत्रका मतदाताले आफ्नो बलियो मुद्दा बनाएको सहजै अनुमान लगाउन सकिन्छ । यता सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की भने आसन्न मंसिर ४ गते सम्पन्न हुने निर्वाचनले देशमा जनताका समृद्धि र विकासको आकंक्षालाई कार्यतालिकाको आधारमा अघि बढाउने समयको प्रारम्भ गर्ने बताउनु हुन्छ । 

मन्त्री कार्की आसन्न निर्वाचनका लागि आफूले उम्मेदवारी दिएको सुनसरी क्षेत्र नम्बर ४ मा मतदातासँग मत माग्नका घरदैलो कार्यक्रममा ब्यस्त छन् । यद्यपी, सुनसरी ४ मा कार्की र जगदीश दुवै हेभिवेट भएकाले समेत उनीहरु मतदाता रिझाउन प्रयासरत छन् । 

दुवै नेताले प्रतिस्पर्धीको तुलानामा आफूलाई अब्बल देखाउन आफ्नो उम्मेदवारी उपर जितको आधार सहितको फेहरिस्त खोलिरहेका छन् । निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवारहरुले चुनावी प्रचार र घरदैलो बढाउँदै लगेका छन् । मतदाता माझ खासै नदेखिएको उत्साह र नेताका आश्वासन मात्रले आजित भएका जनताले कसलाई मत दिएर जिताउने हुन् त्यो भने मंसिर ४ को निर्वाचनले नै तय गर्नेछ । 
 

Advertisement

Advertisement