सिंहको गुनासो– संविधान कांग्रेस नेतृत्वमा बन्यो, तर विकास गर्ने बेला काग्रेसले बहुमत पाएन्

Advertisement

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ का मतदाताले सो क्षेत्रका सत्ता गठवनधनका उम्मेद्वार नेपाली काँग्रेसका प्रकाशमान सिंहसँग सरकारी सेवाको उचित व्यवस्थापन हुन नसकेको भन्दै आलोचना गरेका छन् । 

शनिवार घरदैलो कार्यक्रममा मतदाताहरुले आफूहरुलाई पानी र सरकारी सेवाहरुको छिटो छरितो व्यवस्थापन गर्न नसकेको असन्तुष्टि जनाउँदै अब त्यस्ता कुरामा जोड दिन सिंहलाई आग्रह गरे । सिंहले भने विगतका वर्षमा भन्दा यस वर्ष मतदाताहरुले राम्रो प्रतिक्रिया दिइरहेको दावी गरे । 

Advertisement

मतदाताका मागहरु सम्बोधन गर्न आफू हरेक समय तयार रहेको बताउँदै सिंहले जनताको मेलम्चीको पानीको गुनासो र तीनै तहका सरकारलाई व्यवस्थित बनाउने कुरामा आफू प्रतिवद्ध रहेको बताए । 

उनले संघीयता अनुसार तीन तहको सरकार व्यवस्थित हुन नसकेको गुनासो मतदाताले गरेको बताए । सिंहले यसअघिका दुई निर्वाचन संविधान लेख्नमा लागेको र संविधान जारी गरिसकेपछि कार्यान्वयन गर्ने बेलामा काँग्रेसले जनमत नपाएकाले व्यवस्थित हुन नसकेको तर्क गरे । 

आगामी निर्वाचनपछि काँग्रेसले संविधानको अक्षरशः कार्यान्वयन गर्ने उनको जिकिर छ । सिंहले सत्तारुढ पाँच दलीय गठबन्धन संविधानको रक्षा र राजनीतिक स्थिरताका लागि भएको बताए । उनले भने, ‘मैले यस वर्ष विगतको निर्वाचनको भन्दा पनि राम्रो प्रतिक्रिया पाएको छु । यो भन्दा अघिका निर्वाचनमा जाँदाका प्रतिक्रिया र अहिलेका प्रतिक्रियामा धेरै अन्तर र राम्रो प्रतिक्रिया पाएको छु । उत्साह छ सबैमा ।’ 

सिंहले थपे, ‘यो क्षेत्रको समस्या भनेको पानीको छ । कहिले आउँछ मेलम्चीको पानी भनिरहेका छन् । अर्को कुरा संघीयता जारी गर्नुभयो तर संघीयता अनुसारको तीन तहको सरकार राम्रोसँग कार्यान्वयन भएको पाएनौँ । यो कारणले विभिन्न सेवासुविधाहरुमा सास्ती व्यहोर्नुपरेको छ भन्ने कुरा आयो । व्यवस्थापनमा ख्याल गर्नुहोला भन्नुभएको छ । दुई वटा निर्वाचन त संविधान लेखनमा नै गयो । काँग्रेसको नेतृत्वमा संविधान जारी गरेका थियौँ तर कार्यान्वयन गर्ने बेलामा काँग्रेसले नेतृत्व पाएन । जनताको मत नपाएकाले गर्न सकिएन् ।’ 

नेता सिंहले देशमा विकास गर्नका लागि राजनीतिक स्थिरताको आवश्यक रहेको भन्दै संविधानको रक्षा र स्थिरताले नै विकास निर्माणको कार्यलाई गति दिने दावी गरे । उनले देशमा राजनीतिक स्थिरता कायम गरी हरेक नेपालीको जीविकोपार्जन सहज बनाउन जरुरी रहेको बताए । 

Advertisement

Advertisement