जुनसुकै मूल्य चुकाउन परोस्, यस पटक मतपेटिका साटिन दिन्नः प्रमुख निर्वाचन आयुक्त

Advertisement

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आसन्न निर्वाचनमा मतपेटिका साटिन्छ कि भनेर आशंका नगर्न आग्रह गरेका छन् । आइतबार आयोजित पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँगको सामूहिक छलफलमा उनले आफूले मतदानपछि पनि मतपेटिका साटिन्छ भन्ने दिव्यज्ञान कहिल्यै प्राप्त नगरेको दोहोर्याउँदै यस पटक निर्वाचनमा त्यस्तो हुन नदिने दृढता व्यक्त गरे । 

सेक्युरिटी कोडको आधारमा मतपत्र छापिने भएकाले मतपेटिका फेरिए पनि फेरिएको मतपेटिकामा सो आयोगको मतपत्र हुनै नसक्ने थपलियाको स्पष्टीकरण थियो । उनले भने, ‘मैले करिव ४० वर्षदेखि सार्वजनिक क्षेत्रमा काम गर्दै आएको छु । मेरो अनुभवले अहिले आएर हेर्दाखेरी यो मतपेटिका कसरी साटिदो रहेछ भन्ने तरिका जान्दै नजानिकन मेरो यो पद सकिन्छ कि भन्ने मलाई डर छ । म यसलाई प्रष्ट पारौं । मतदान कसरी सम्पन्न हुन्छ भन्ने बारेमा मैले भन्नैपर्ने हुन्छ । मटपेटिका कसरी साटिन्छ आखिर हिजो त भए छ नि । मैले त्यो दिब्यज्ञान प्राप्त गर्न सके भने त्यस्तो हुन नदिने कुराको ग्यारेन्टी गर्छु, जुनसुकै मूल्य चुकाउन परोस् ।’ 

Advertisement

थपलियाले आफूले निर्वाचनमा मतपेटिका साटिन्छ भन्ने अनुभव कहिल्यै नगरेको बताए । उनले निर्वाचन आचारसंहिताको पालना गराउन आयोग कडाईका साथ लागि परेको समेत बताए । 

थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने आयोगको अभिभाराप्रति आशंका नगरिदिन पनि अनुरोध गरे । त्यसका लागि सम्बन्धित पक्षले खवरदारी गरिदिनुपर्ने उनको भनाई छ । 

थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोगले अग्रजहरुको अनुभवलाई आत्मासात गरेर अघि बढने समेत बताए । उनले भने ‘भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्दछ । यसका लागि तपाईहरुको सहयोग, हाम्रो अभिभारा, अग्रजजीहरुको अनुभव, त्यसलाई फ्युजन गराएर हामी केही न केही नयाँपन निकाल्ने प्रयत्न गछौं । हाम्रो निष्ठामाथि शंका नगरिदिनोस् । बरु हामीलाई यसैगरी खवरदारी गरिदिनोस् ।’

निर्वाचन आयोगले निर्वाचनमा करिव १० हजार पर्यवेक्षकहरु परिचालन गर्ने योजना रहेको जनाएको छ । थपलियाले हरेक मतदान केन्द्रमा कम्तिमा एक जना पर्यवेक्षक परिचालन गर्ने योजना रहेको पनि बताए । 

Advertisement

Advertisement