ओलीका मान्छे भोट माग्न आए ‘किन आएको ?’ भनेर जनताले सोध्नुपर्छः प्रचण्ड

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको टिप्पणी गरेका छन् । 

काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभाकी उम्मेदवार घर्तीलाई आफूले सानैदेखि चिनेको र उनमा प्रधानमन्त्री बन्ने दृढता रहेको बिहीबार काठमाडौंमा आयोजित सत्ता गठवन्धनको चुनावी सभामा उनले बताए । 

Advertisement

प्रचण्डले मंसिर ४ गतेको निर्वाचनलाई नेपाली जनताले प्रतिगमनलाई परास्त गर्ने अवसरको रुपमा लिनुपर्ने समेत बताए । उनले केपी ओली र उनको गठबन्धन फेरि जितेर आए संविधान च्यात्ने भएकाले उनीहरुलाई नेपाली जनताले तिरस्कार गरेर अघि बढनुपर्ने तर्क गरे । 

नेता प्रचण्डले ओली संविधानमा हस्ताक्षर गरेर पनि संविधानको रक्षक र गणतन्त्रको पक्षधर हुन नसकेको बताए । प्रचण्डले भने, ‘हाम्रो गठवन्धन संविधानको रक्षाको निम्ति, स्थिरता र विकासको निम्ति हो । अर्को पनि एउटा गठबन्धन छ । केपी ओलीको नेतृत्वमा । तर, उनीहरु गठबन्धन भन्दैनन् । गर्छन गठबन्धन । उनीहरु राजावादी छन । राजतन्त्र फर्काउने कुरा गर्छन । उनीहरु दक्षिणपन्थी छन । संविधान मिच्ने र च्याप्ने कुरा गर्छन । अनि, फेरि भोट माग्न जनता कहाँ आउँछन ।’ 

उनले थपे, ‘मैले धेरैतिर भन्ने गरेको छु–त्यसरी आउनेहरुलाई जनताले सोध्नुपर्छ –तपाईंहरुलाई भोट किन चाहियो ? संविधान च्यात्न अघिल्लो पटक सकिएन दुई तिहाई हुँदा पनि । संविधान च्यात्नका लागि भोट दिनोस भन्न खोज्नु भएको हो ? यो प्रश्न सोध्नुपर्ने हुन्छ । प्रतिनिधिसभा जनताको सार्वभौमसत्ता पटकपटक विघटन गरियो तर सफल भएन । त्यो विघटनको सफलताका लागि हामीलाई भोट दिनु भनेको हो ? या भ्रष्टाचार त गरियो, अझै धेरै भ्रष्टाचार गर्नुपर्ने भएकाले मत दिनुस भनेको हो ? यो जनताले उनीहरुलाई सोध्नुपर्ने प्रश्न हो । मैले त भनेको छु–नैतिकताको आधारमा अव म राजनीतिमा रहन्न भन्नुपर्ने अवस्था रहिसक्यो । तर, उहाँ मान्न तयार हुनुहुन्न ।’ 

नेपालमा गणतन्त्र हुनुहुँदैन, हुन सक्दैन भन्ने सिद्धान्त हो केपी ओलीको भन्दै प्रचण्डले गोरुगाडावाला सिद्धान्त असफल भइसकेको बताए । एक चोटी कुनै जालझेल गरेर शक्तिमा पुगियो भने संविधान पनि च्यातच्युत, गणतन्त्र पनि उल्टयाउँछौं भन्ने ओलीमा रहेको बताउँदै उनले नेपाली जनताले झण्डै ७० वर्ष लडेर ल्याएको संविधानलाई बचाउन निम्ति, देशमा राजनीतिक स्थायित्वका निम्ति गठबन्धन बनाएको दावी गरे । 
 

Advertisement

Advertisement