‘संवृद्धि’ ल्याउने नेतृत्वको अपेक्षासहित व्यवसायीहरुले गरे मतदान

Advertisement

काठमाडौं । संवृद्धि ल्याउने नेतृत्वको अपेक्षा गर्दै व्यवसायीहरुले पनि आइतबार मतदाना गरेका छन् । विकास र संवृद्धिका लागि भिजन भएको नेतृत्वको खाँचो औंल्याउँदै आएका व्यवसायीहरुले सोही अपेक्षासहित मतदान गरेका हुन् । 

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आइतबार मतदान गरे । उनले काठमाडौं–८ स्थित सीतापाइला माविको मतदान केन्द्रबाट मतदान गरेका हुन् । त्यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले काठमाडौंकै विशालनगरस्थित मतदान केन्द्रबाट मतदान गरे । पूर्वअध्यक्ष पशुपति मुरारकाले पनि मतदान गरेको तस्वीर सार्वजनिक गरेका छन् । अरु व्यवसायीले पनि आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरेका सुचना आएका छन् । 

Advertisement

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गोल्छाले देशको समृद्धि र सुशासनको पक्षमा काम गर्ने उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे । सामाजिक सञ्जालमा पनि उनले संवृद्धिका लागि मताधिकार प्रयोग गरेको लेखेका छन् । 

गोल्छाले देशमा समृद्धि ल्याउनसक्ने विश्वास बोकेकाहरुलाई जिताउन आवश्यक रहेको बताउँदै मतदानको अधिकार नागरिकको नैतिक र कानूनी जिम्मेवारी भएको बताए । 

उनले भने, ‘जसले यो देशलाई अघि बढाउन सक्छ, जसले देशमा समृद्धि ल्याउनसक्छ र जोसँग विश्वास छ, जसले यो देशलाई राम्रो दिशा दिनसक्छ । त्यसैलाई भोट दिऔँ । यो हाम्रो नैतिक जिम्मेवारी पनि हो । कानूनी जिम्मेवारी पनि हो ।’

Advertisement

Advertisement