नेपालको राजनीतिले जनताको धेरै विश्वास गुमाइसक्योः प्रदीप पौडेल

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले नेपालको राजनीतिले जनताको धेरै विश्वास गुमाइसकेको बताएका छन् । सोमवार बुढानिलकण्ठ नगरपालिकाको विष्णुमती किनारमा करिडोर सडकको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद पौडेलले घोषणापत्र लेख्ने, प्रतिवद्धताहरु व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहे राजनीतिसँग कोही पनि नजोडिने बताए । उनले विकास निर्माणका काम हुन नसके राजनीतिको ठूलो तहमा पुगेका नेताहरुलाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने बताए । 

Advertisement

भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका आधारमा कामहरु अघि बढाउन आफू प्रतिवद्ध रहेको पनि बताउँदै उनले यसअघि विष्णुमतीमा मापदण्डअनुसार करिडोर बनाउन किन रोकिएको ? भन्दै प्रश्नसमेत गरे । पौडेलले करिडोर बनेको खण्डमा रिङरोडको ट्राफिक जाम पनि कम हुने विश्वास व्यक्त गरे । 

उनले कतिपय सडकमा विद्युत प्राधिकरणले तार भूमिगत गर्ने भन्दै सडक अलपत्र छोडेको र मेलम्ची खानेपानीका लागि पाइप बिच्छ्याउन सडक खनेर अलपत्र पारेकाले जनताले सास्ती भोग्नुपरेको बताए । पौडेलले बिग्रिएका बाटोहरुको मर्मतका लागि आवश्यक पहल गरिरहेको बताए । 

नेता पौडेलले भने, ‘राजनीतिले धेरै विश्वास गुमाइसकेको छ । घोषणापत्र लेख्ने, प्रतिवद्धताहरु व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहिरह्यो भने राजनीतिसँग कोही जोडिँदैन । राजनीतिको ठूलो तहमा पुगे पनि समाजले सम्मान गर्ने स्थिति हुँदैन । स्थानीय तहले नै स्थानीय तहको विकास गर्ने हो । हामी बजेट ल्याउने कुरामा सांसदहरु लाग्नेछौँ । भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका कामहरु अघि बढाऔँ ।’ 

उनले आफ्नो निर्वाचन क्षेत्रमा बाटो र खानेपानीको समस्या धेरै रहेको बताए । पौडेलले आफूले निर्वाचनको बेलामा जनतासँग गरेका प्रतिवद्धताहरुलाई पूरा गर्नका लागि निर्वाचन क्षेत्रमा रहेका समस्या समाधानको पहलकदमी थालेको पनि बताए । उनले सरकार सञ्चालन गर्ने हरेक दलहरुले एक घर, एक धाराको नीति लिए पनि काठमाडौंमा नै एक घर, एक धाराको नीति लागू गर्न नसकेको बताए । 

नेता पौडेलले विष्णुमतीको मुहानदेखि आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विष्णुमती करिडोर सडकलाई बनाउने, स्तरोन्नती गर्ने र कालोपत्रे गर्ने कुरामा आफू निरन्तर लागिपर्ने बताए । विष्णुमती करिडोर सडक करिव १२ करोड रुपियाँमा निर्माण हुने अनुमान गरिएको छ । 

Advertisement

Advertisement