‘अब दूतावासहरुले रक्सी मासु खान बोलाउँछन्, तपाईंहरु नजानुहोला’

वास्तवमा राप्रपाको यति कमजोर नतिजा आउनुमा म जिम्मेवार छुः राजेन्द्र लिङदेन

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् । सोमवार पार्टीको केन्द्रिय सचिवालयले आयोजना गरेको आफ्ना निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा उनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन् । 

लिङदेनले आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् ? सोही गर्ने बताए । उनले आफूहरु मन्त्री खानको लागि कसैको घर नधाउने स्पष्ट पारे । 

Advertisement

लिङदेनले राप्रपा कुनै दलको पुच्छर नबन्ने स्पष्ट पार्दै सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित गर्ने बताए । उनले भने, ‘सरकार निर्माणको प्रक्रिया शुरु भएको छ । राष्ट्रपतिबाट आव्हान भएको छ । हामी बैठक बसेर आधिकारिक धारणा पनि बनाउँछौँ । कोही पनि हाम्रो साथीहरुले आत्तिनुपर्दैन । नेतृत्वले गल्ती गर्छ कि ? फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी जोखिममा जान्छ कि ? यो चिन्ता लिनुपर्दैन ।’ 

लिङदेनले थपे, ‘हामी सोची, विचारी निर्णय गर्छौ । अहिले न हामीलाई सरकारमा जान हतारो छ । न सरकारमा नजाने भनेर हामीले कसम खाएरै आएका छौँ । के गर्दा उपयुक्त हुन्छ ? के गर्दा हाम्रो मान्यताहरु स्थापित हुन सक्छन् ? के गर्दा देश र जनताको अवस्थामा परिवर्तन ल्याउन सकिन्छ ? त्यो सोचेर, बिचार गरेर हामी निर्णय गर्छौ । 

उनले राप्रपाको उकालो यात्रा शुरु भएको बताए । लिङदेनले आगामी दिनमा सतर्कतापूर्वक अगाडी बढ्दै पार्टीलाई पहिलो बनाउने बताए । उनले पार्टीले अझै मत ल्याउनुपर्ने भन्दै प्राप्त भएको मत परिणामबाट आफू सन्तुष्ट नभएको बताए । 

पार्टीलाई ठिक ढंगले परिचालन गर्न नसक्दा प्राविधिक रुपमा धेरै मत नआएको भन्दै लिङदेनले जनताको मन भने जितेको बताए । उनले राप्रपा सुध्रिएको हो कि होइन ? भनेर जनताले परीक्षण गर्नका लागि यसपटक यति मत दिएका उल्लेख गरे । 

लिङदेनले भने, ‘यो परिणामबाट म खुशी छैन् । मैले परिकल्पना गरेको परिणाम यो होइन । मैले यतिको मात्रै अपेक्षा गरेको थिइन । मैले नैतिक रुपमा म अध्यक्षबाट राजीनामा दिएँ भनेर हालिदिउँ कि जस्तो लागेको थियो । यति सिटको राप्रपा कल्पना गरेको थिइन । म इमान्दारीपूर्वक भन्छु यो परिणामबाट म उज्यालो छैन् । खुशी छैन । यो परिणाम आउन अध्यक्षको हिसाबले म जिम्मेवार छु । हामीले ठिक ढंगले आफूलाई परिचालित गर्न सकेनौँ ।’ 

उनले थप भने, ‘प्राविधिक रुपमा मत जित्न नसकेपनि हामीले मन जितेका छौँ । हामीप्रति आशा पलाएको छ । साथीहरुमा निराशा थियो । त्यस्तो साथीहरुलाई अहिले धेरै आयो नि भन्ने छ । तर हामीले ल्याउनुपर्ने यति मात्रै होइन । जित्नुपर्ने यति मात्र होइन । हामीले जे परिणाम प्राप्त गरेका छौँ । त्यसको जगमा टेकेर आगामी दिनमा राप्रपालाई मुलुकको पहिलो शक्ति बनाउँछौँ । राप्रपा मुलुकको पहिलो शक्ति बन्छ र हामीले हाम्रो जीवनकालमै हामीले हाम्रो मान्यताहरु स्थापित गर्छौं । जनताले आशाको दृष्टिले हेर्न थालिएको छ । साना तिना आशंका पनि बाँकी छन् । यो मत परिणामले के देखाउँछ भने तिमिहरु साच्चै सुध्रिएकै हो त ? हेरौँ न त एकचोटी । सुध्रिएको हो कि होइन जाँच्नको लागि हामीलाई टेक्ने अवसर प्राप्त भएको छ । यो हामीलाई हामी साँच्चिकै सुध्रिएको हो भन्ने देखाउने एउटा मौका हो । यसलाई त्यो मौकाको रुपमा हामीले उपयोग ग¥यौँ भने हामीले हाम्रो कार्यशैलीमा परिवर्तन गरेकै हो । र हामी अहिले जे भनिराखेका छौँ त्यो बाचा कर्मबाट पूरा गर्न तयार छौँ भन्नेकुरा आगामी कार्यशैलीबाट प्रमाणित ग¥यौँ भने राप्रपालाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन । अब यो यात्रा उकालो यात्रा प्रारम्भ भएको छ । यसलाई हामीले होसियारीपूर्वक, शतर्कतापूर्वक अगाडी बढाउनुपर्दछ ।’

अध्यक्ष लिङदेनले नवनिर्वाचित सांसदहरुलाई विदेशी दूतावासहरुले कार्यक्रमहरुमा बोलाएमा पार्टीको अनुमति बिना नजान निर्देशन दिए । दूतावासले बोलाएर रक्सीमासु खुवाउने भन्दै उनले त्यस्तो नगर्न आग्रह गरे । लिङदेनले सांसदहरुलाई अनुशासन र मर्यादामा बस्न दिर्नेशन दिए । 

उनले भने, ‘अब तपाईंहरुलाई कहिलेकाहीँ अन्तर्वार्तामा बोलाउँछन् । कहिले कुनै विदेशी दूतावासहरुले कार्डहरु पठाइराख्छ । ए मलाई फलाना दूतावासले बोलाएको छ भनेर खुरुरु कुँदेर गएर त्यहाँ रक्सी खानेले रक्सी खाने मासु खान पाउनेले मासु खान कुदिहाल्नु हुन्न । पार्टीलाई सोधेर जानुपर्छ । हिजोअस्ति तपाईं व्यक्तिगत रुपमा जहाँ जानुहुन्थ्यो, जहाँ नाच्नुहुन्थ्यो केही छैन । तर अहिले केही मर्यादाहरु, केही जिम्मेवारीहरु छन् अब ।’

नेता लिङदेनले पार्टीमा योगदान गरेका र क्षमता र सम्भावना भएका नयाँ व्यक्तिहरुलाई सांसद बनाइएको बताए । पार्टीमा नयाँ मानिसहरुलाई पनि अवसर दिनुपर्ने र फराकिलो दृष्टिकोण राख्नुपर्ने उनको भनाई छ । पार्टी सदस्यहरुले पनि कडाइपूर्वक पार्टी अनुशासनको पालना गर्नुपर्ने लिङदेनले बताए । 

Advertisement

Advertisement