फेरि संसदीय दलको नेता बन्न खोजेका देउवालाई गगनले चुनौति दिने, शेखरको पनि समर्थन

Advertisement

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा फेरि उम्मेदवारी दिन लागेका सो पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई महामन्त्री गगन थापाले चुनौति दिने भएका छन् । 

दलको नेताका लागि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता हुँदैछ । बुधबार विहान ८ बजेदेखि १० बजेसम्म मतदानको कार्यक्रम छ । कोइराला–गगन पक्षको भेलापछि शेखर कोइराला गगनलाई उम्मेद्वार बनाउन सहमत भएका हुन् । 

Advertisement

पटक पटक प्रधानमन्त्री भएर असफल भइसकेका देउवालाई पुनः प्रधानमन्त्री बनाउन नहुने ठूलो जनमत रहे पनि कांग्रेसका बहुमत साँसद र केन्द्रीय नेता देउवालाई नै नेता बनाउने योजनामा छन् । 

यता कोइराला समूहले लामो विवाद र छलफलपछि थापालाई संसदीय दलको नेताको रुपमा प्रस्तुत गर्न तयार भएको छ । जित्ने संभावना न्यून रहे पनि देउवालाई चुनौति दिन उनीहरु एक भएका हुन् । 

कांग्रेसको गएको १४ औँ महाधिवेशनमा देउवासँग सभापतिको प्रत्यासी रहेका नेता कोइराला नेतृत्वको समूहले पनि थापालाई सर्वसम्मत उम्मेदवार बनाउन तयार भए पनि सो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थनक कस्लाई हुने ? भन्ने कुरा भने अझै अन्योलमा छ । 

कोइराला समूहको बैठक बसिरहँदा अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि पुगेका थिए । उनले थापालाई संसदीय दलको नेता बनाउन आव्हान पनि गरे ।

Advertisement

Advertisement