‘त्यतिबेला मध्यावधी चुनाव हुन दिएको भए गणतन्त्र पनि संकटमा पर्थेन, धेरै विकास पनि भइसक्थ्यो’

Advertisement

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई नीति, विचार, लक्ष्य र उद्देश्यबिहीन दिशातर्फ अघि बढाउने दुष्प्रयास भइरहेको तर्क गरेका छन् । 

मंगलवार एमालेले बोलाएको नवनिर्वाचित सांसदहरुसँगको भेटघाट कार्यक्रममा उनले तत्कालीन नेकपा भएको बेलामा कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्न जनतामा जाने फैसलालाई सफल बनाउन नदिइएको बताए । 

Advertisement

तत्कालनि अवस्थामा नै जनतामा जाने फैसलालाई कार्यान्वयन गरेको भए आजसम्म मुलुकले विकास र समृद्धिको बाटो समातिसकेको हुने थियो भन्दै पोखरेलले अहिले मुलुकको गणतन्त्र नै संकटमा पर्ने खालका गतिविधिहरु भइरहेको बताए । उनले चुनावपछि मुलुकको राजनीतिमा शुरु भएका अस्थिरताका खेलहरुले एमालेले अघि सारेका मान्यताहरु सही साबित गरिदिएको बताए । 

पोखरेलले राष्ट्रिय राजनीतिमा नेकपा एमाले बलियो शक्तिका रुपमा स्थापित भइरहेको पनि बताए । उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनको नाममा हामीले जुन प्रकारको एकताको प्रक्रिया अघि बढाएका थियौँ । त्यसलाई कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्रका रुपमा प्रयोग गर्ने जनमतलाई खण्डित गरिकन जनताले अस्वीकार गरेको शक्तिलाई सरकारको नेतृत्व सुम्पने खालको षड्यन्त्रपूर्ण तरिकाले अघि बढेका बेलामा हाम्रो पार्टीले जनतामा जाने फैसला गरेको थियो । यदी पुस ५ गते हाम्रो पार्टीको नेतृत्वमा जनतामा जाने फैसलालाई कार्यान्वयन भएको भए आज मुलुकले विकास र समृद्धिको बाटो समातिसकेको हुने थियो । आज जुन प्रकारको राजनीतिक अस्थिरताका प्रवृत्तिहरु देखापरेका छन्, त्यसबाट हामीले मुलुकलाई सही बाटो प्रदान गर्न सक्थ्यौँ ।’ 

पोखरेलले थपे, ‘तर मुलुकलाई नीतिबिहीन, विचारबिहीन, लक्ष्य, उद्देश्यबिहीन राजनीतितर्फ अघि बढाउने प्रयास भयो जसका कारण आज गणतन्त्र नै संकटमा पर्ने खालका आशंकाका काला बादलहरु मडारिने खालको स्थिति उत्पन्न भएको छ । गठबन्धन समस्याको समाधान होइन, हामीले चुनाव अघि भनेका थियौँ । चुनावपछि मुलुकको राजनीतिमा जुन प्रकारका अस्थिरताका खेलहरु शुरु भएका छन्, त्यसले नेकपा एमालेका मान्यताहरु सही रहेका छन् भन्ने प्रमाणित गरेको छ । राष्ट्रिय राजनीतिमा नेकपा एमले बलियो शक्तिका रुपमा स्थापित भइरहेको छ । हाम्रो पार्टी अध्यक्षका बिरुद्धमा जुन प्रकारको घेराबन्दी थियो, अहिलेको चुनावले सबैभन्दा लोकप्रिय नेताको रुपमा हाम्रा पार्टी अध्यक्षलाई चुनेर पठाएको छ ।’
 

Advertisement

Advertisement