एक सय ८३ दिन पर्यटन मन्त्रालय सम्हालेका श्रेष्ठले जाँदाजाँदै सुनाए प्रगति विवरण

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय एक सय ८३ दिन सम्हालेका जीवनराम श्रेष्ठले आफ्नो कामको विवरण सार्वजनिक गरेका छन् । नीतिगत, कानूनी, संरचनागत सुधार मार्फत यो क्षेत्रलाई व्यवस्थित गर्ने आधार तयार गरिएको छ । पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना ल्याइ कार्यन्वयन अघि बढाउनु, पर्यटन पूर्वाधारको विकास, पर्यटन प्रर्वद्धन, नेपाल पर्यटन दशक घोषणा जस्ता केही महत्वपूर्ण कामहरुको शुरुवात भएको उनको दावी छ । 

संस्कृति र पुरातत्वतर्फ सम्पदाहरुको पुनःनिर्माण, सांस्कृतिक सम्पदाको संरक्षण एवं प्रवर्द्धनका लागि होप अन होप अफ बस संचालनको अवधारणा अघि बढाउनु, रात्रिकालिन सम्पदा यात्राका लागि आवश्यक पुर्वाधार तयार गर्नु लगायत महत्वपूर्ण कार्यहरु भएका छन् भने नागरिक उड्डयनतर्फ विमानस्थल सेवा विस्तारमा थप प्रगति हासिल भएको छ । कोभिड–१९ को महामारी पश्चात पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनको लागि नेपालको पर्यटन क्षेत्र पुर्नउत्थान सम्वन्धि ७४ बुंदे कार्ययोजना तयार गरी कार्यन्वयन गरिएको छ । पर्यटकका लागि नेपाल बाह्रै महिना घुम्नयोग्य छ, भन्ने सन्देश अन्तराष्ट्रिय बजारमा प्रवाह गर्ने कार्यक्रम संचालन गरिएको उनले जानकारी दिए । 

Advertisement

अमुर्त संस्कृत सम्बन्धी हालसम्म कुनै ऐन, नियम, नीति, मापदण्ड र कार्यविधि समेत नबनेको अवस्थामा संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण तथा सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी राज्यको नीति कार्यन्वयनका लागि अमुर्त सांस्कृतिक सम्पदाहरूको पहिचान, विकासको लागि विषयगत कानून निर्माणका लागि ऐनको मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको छ । राष्ट्रिय विभूति र नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाको योगदानलाई चीरकालसम्म जिवित राख्न उनले गरेको योगदानको कदर स्वरुप रु. एक लाख राशीको तीन जनालाई प्रदान गर्ने गरी शङ्खधर साख्वा राष्ट्रिय पुरस्कार स्थापना गर्ने र उक्त पुरस्कार वितरण गर्ने सम्वन्धी ’शङ्खधर साख्वा राष्ट्रिय पुरस्कार कार्यविधि, २०७९’ तयार गरिएको छ । 

रुकुमको चौरजहारी विमानस्थलमा विस्तार गर्नका निमित्त जग्गा अधिग्रहण प्रकृया अघि बढाइएको छ । साथै सिमिकोट विमानस्थलको धावन मार्गको पश्चिम उत्तरतर्फ जग्गा अधिग्रहण गरी धावन मार्ग विस्तारको प्रकृया अघि बढाइएको छ भने रारा विमानस्थल विस्तारका लागि थप जग्गा अधिकरणको काम पनि अघि बढाइएको छ । दाङ र चितवनको भरतपुर विमानस्थलमा ७२ सिटे जहाज अवतरण गर्न सक्ने गरी धावनमार्ग विस्तारको कार्य अघि बढाइएको छ । पर्यटन क्षेत्रलाई विश्व पर्यटन बजारमा चिनाइ नेपाल पर्यटकीय दृष्टिको सबै ऋतुहरु आकर्षक, रमणीय र सुरक्षित गन्तव्य स्थल हो भन्ने सन्देश प्रवाह गर्न पर्यटन सद्भावना दुत, सांस्कृतिक पर्यटन सद्भावना दुत, खेलकुद पर्यटन सद्भावना दुत नियुक्तिलाई विधि सम्मत बनाउँदै नियुक्त हुने दुतका कामलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि “पर्यटन सद्भावना दुत÷सांस्कृतिक पर्यटन सद्भावना दुत÷खेलकुद पर्यटन सद्भावना दुत सम्बन्धी कार्यविधि, २०७९” तयार गरिएको उनको भनाइ छ ।

उनका अनुसार पर्यटन सम्बद्ध शैक्षिक जनशक्ति उत्पादन गर्ने सरकारी संस्था नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई प्रदेशस्तरमा बिस्तार गर्ने योजना अघि बढेको छ । पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सिपमूलक जनशक्ति तयार गर्नुपर्ने आवश्यकता रहेकोले सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी प्रतिष्ठान स्थापना गर्न मन्त्रालय अन्तर्गत सञ्चालित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को सेवाहरु विस्तारको योजना अघि सारिएको छ । पर्यटन शिक्षाको क्षेत्रमा अत्यावश्यक दक्ष जनशक्ति उत्पादनका लागि काठमाडौं विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच सम्झौता गरिएको छ ।  प्रदेशमा प्रतिष्ठान शाखा विस्तारको तयारी अघि बढाइएको छ । 

पशुपति क्षेत्र विकास कोषको वृहत्तर गुरुयोजना तयार गरिएको छ । अमेरिकामा रहेर गीत, संगीत र रचनाको माध्यमबाट नेपाल र नेपालीलाई विश्वमाझ परिचित गराउन तथा आफ्नो गायन कला मार्फत विश्व मानचित्रमा नेपालको प्रचार–प्रसार गर्न पुर्याउनुभएको अमूल्य योगदानको उच्च कदर गर्दै गायक तथा सन् २०२० को अमेरिकन आइडलका उपविजेता दिवेश पोखरेललाई नेपालको पर्यटन सद्भावना दुतमा नियुक्त गरिएका मन्त्री श्रेष्ठले जनाएको छ । विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन ‘एक भक्त एक वृक्षरोपण’ अभियान संचालन गरिएको छ । विमानस्थलको क्षमता विस्तार र आधुनिकीकरणको कामलाई अघि बढाइएको छ । पशुपति मन्दिर क्षेत्रमा भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी प्रवन्ध मिलाइएको मन्त्री श्रेष्ठले बताए ।

काठमाडौंमा पहिलो पटक सम्पदा लक्षित ‘लोकल गाइड’ तालिमको शुभारम्भ गरिएको छ । स्थानीय कला, शिल्प र काठमाडौं महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिम सफलतापुर्वक सम्पन्न गरिएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भू सम्पदामार्ग निर्माण अघि बढाइएको छ । हनुमानढोकादेखि मरू गणेश–सन्तानेश्वर महादेव–नरदेवी–निपुहिटी–भुइँखेल हुँदै स्वयम्भू पुगिने पदमार्गअन्तर्गत रहेका सम्पदाको मर्मत तथा पुनर्निर्माण कार्य सुरु गर्नुका साथै र सो क्षेत्रका स्थानीय युवाहरुलाई स्थानीय पथप्रदर्शक तालिम प्रदान गरिएको मन्त्री श्रेष्ठले बताए ।

उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा पर्यटकहरुलाई सहज बनाउन होप अन होप अफ बस संचालनको तयारी अन्तिम चरणमा पुगेको छ । पर्यटकलाई आवगमन देखि सम्पदा क्षेत्र अवलोकनमा समेत वाधा पुग्ने सामाग्रीहरु हटाइ व्यवस्थित गरिएको छ । रात्रीकालिन सम्पदायात्राले उपत्यकाका मठमन्दिर, जात्रा पर्वले मात्रै होइन बाजागाजा, सांस्कृतिक नाच, झाँकी र भजनले पनि पुर्नजीवन पाउनेछन् । लुम्वीनी गुरुयोजनाभित्रको जग्गालाई कानुन विपरित भाडामा दिन यसअघि भएका निर्णय खारेज गरिएको छ । तिलौराकोटलाई विश्वसम्पदा सुचिमा सुचिकृत गर्न आवश्यक प्रकृयाका लागि परामर्सदाता नियुक्त गरीएको छ  । लुम्वीनीको बुद्ध सर्किटमा निःशुल्क इलेक्ट्रिक बस संचालन सुरु गरिएको छ र नियमित संचालनका लागि आवश्यक प्रकृया अघि बढाइएको छ । 

पर्यटनको विविधीकरण तथा साझेदारी गर्ने सम्बन्धमा सातवटै प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीहरु सम्मिलित अन्तरप्रदेश समन्वय समितिको वैठक सम्पन्न गरिएको छ । तीनै तहका सरकारबाट पर्यटन क्षेत्रमा लगाइने दोहोरो शुल्कको समस्या समाधान, व्यवस्थापन र रोयल्टीको बाँडफाँड तथा सेवा, सुविधा र प्याकेज रेटमा समेत एकरूपता कायम गर्न प्रदेशका पर्यटन मन्त्रीहरुसँग छलफल गरी समाधानको प्रयास गरिएको छ । पर्यटन क्षेत्रको विकास गर्न ग्रामिण क्षेत्रसँगै शहरी क्षेत्रमा समेत स्थानीय घरवास (होमस्टे) सञ्चालन गर्न सकिने सम्भावना रहेकोले काठमाडौं सहित देशका विभिन्न स्थानमा होमस्टे सञ्चालन तालिम सम्पन्न गरिएको उनले जानकारी दिए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेको तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पुरा गरी आगामी जनवरी १ मा उद्घाटन गर्ने मिति तय गरिसकिएको छ । भने निजगढ विमानस्थल निर्माण सम्वन्धि अन्योलको अन्त्य भएको छ । सर्वोच्च अदालतको परमादेश अनुसार पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषदले विज्ञ समूह गठन गरी अध्ययन प्रतिवेदन तयार गरेको उनले बताए ।

नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्न सक्ने पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल आवश्यक रहेको विज्ञ समूहको निष्कर्ष रहेको छ । अन्तराष्ट्रिय विमानस्थलका लागि उपयुक्त स्थान काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) र पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको पसाहा नदी र बकैया नदी बीचको करिब ९ हजार हेक्टर क्षेत्रफल भित्रको करिब ४ हजार हेक्टर क्षेत्र उपयुक्त रहेको विज्ञ समुहले भनेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको महासभामा नेपालको तर्फबाट सम्वोधन गर्दै उड्डययन क्षेत्रलाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउने सरकारको प्रयासबारे अन्तर्राष्ट्रिय समुदायलाई विश्वस्त पारिएको उनले जनाए ।  

नेपाल सरकारले सन् २०२३ देखि २०३२ लाई नेपाल पर्यटन दशकका रूपमा मनाउने निर्णय गरेकाले नेपाल पर्यटन दशक (२०२३–२०३२) को रणनीतिक कार्ययोजनाको रुपरेखा तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन तयार गरि सार्वजनिक गरिसकेको छ । विदेशी भुमिमा नेपालको पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउने बारेमा विभिन्न मुलुकमा रहनुभएका नेपाली राजदुतहरुसँग सामुहिक छलफल गरीएको छ । अमेरिका, स्वीजरल्याण्ड, रुवाण्डा लगायतका मुलुकहरुसँग हवाई सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ । नयाँ पर्यटकीय गन्तव्यको पहिचान, विकास, विस्तार र प्रवर्धन गरी पर्यटकीय सेवालाई गुणस्तरीय बनाउने ध्येयका साथ पर्यटन पूर्वाधारहरुको निर्माण र प्रवर्धनात्मक कार्यक्रमहरु संचालन गरिएको मन्त्री श्रेष्ठले  बताए । 

Advertisement

Advertisement