पदभार ग्रहण गरेको १५ दिनपछि प्रधानमन्त्री दाहालद्वारा  विश्वासको मत लिंदै

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २६ गते विश्वासको मत लिने भएका छन् । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गरेका थिए ।  

विभिन्न सात राजनीतिक दलसहित कूल एक सय ६९ सांसदको समर्थनमा तेस्रो पटक सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री बनेका दाहालले एक पत्रमार्फत पुस २६ गते विश्वासको मत लिन लागेको उल्लेख गरेका हुन । प्रधानमन्त्रीले सङ्घीय संसद् सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्राप्त गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।  

Advertisement

उनले भने, “प्रधानमन्त्रीले पत्राचार गरेर नै कार्यसूचीमा समावेश गरिदिनुहुन भनेर आग्रह गर्नुभएको छ । सचिवालयका तर्फबाट हामीले आवश्यक व्यवस्थापन गर्छौँ ।” नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही उपधाराको ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ । 

प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ । प्रत्यक्ष कूल एक सय ६५ र समानुपातिकतर्फबाट एक सय १० सांसद छन् । मनाङका सांसद टेकबहादुर गुरुङ भने हाल निलम्वनमा छन् ।  

Advertisement

Advertisement