पाल्पाको टाडीमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु
फाइल तस्बिर

Advertisement

रामपुर । पाल्पामा गएराति बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नंको बस दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो । 

दुर्घटनामा मृत्यु हुनेमा रैनादेवीछहरा–८ की ३६ वर्षीया निर्मला घिमिरे, निर्मलाकी ११ वर्षीया छोरी सरुमाया, ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री र १९ वर्षीया बिमा पाण्डे रहेको पाल्पाका प्रहरी नायब उपरीक्षक  वीरेन्द्र थापाले जानकारी दिए । गएराति करिब सवा १० बजे उक्त बस दुर्घटना भएको बताइएको छ । 

Advertisement

बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो । दुर्घटनामा १८ यात्रु घाइते भएका छन् । घाइतेमध्ये छ जनाको एडमनसिटी हस्पिटल जितगढी, बुटवल तथा १२ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गर्नुभएको छ । बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उनले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।  

प्रधानमन्त्री दाहालले आज ट्वीट गर्दै दुर्घटनामा मृत्यु भएका नागरिकका आफन्तजनमा समवेदना प्रकट गरेका छन् । पाल्पाको रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा गए राति बस दुर्घटना हुँदा छ जनाको ज्यान गएको थियो । 

दुर्घटनामा परी १८ जना घाइते भएका छन् । प्रधानमन्त्री दाहालले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनले सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा अपिल गरे । 

Advertisement

Advertisement