पशुपति दर्शन गरेर लिङ्देनद्धारा पदभार ग्रहण, ‘मन्त्री बन्नेहरु बिग्रिन्छन् भन्ने सोच बदल्छु’

Advertisement

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङदेनले नबिग्रिएमा मानिसहरु सरकारमा जानैहुन्न, मन्त्री बन्न हुन्न भन्ने सोचलाई आफूले बदल्ने बताएका छन् । 

उपप्रधानमन्त्रीको सपथग्रहणलगत्तै पशुपतिनाथ मन्दिरको दर्शन गरेर पदभार ग्रहण गरेका उनले आफूलाई धेरै शुभचिन्तकहरुले सरकारमा नजान र मन्त्री नबन्न सुझाव दिएको बताउँदै यस जिम्मेवारीलाई आफूले चुनौतिको रुपमा लिएको र अवसरमा बदल्ने बताए । 

Advertisement

मन्त्री लिङदेनले नेपालको सन्दर्भमा मानिस सरकारमा गएपछि र मन्त्री भएपछि बिग्रिहाल्छ भन्ने सोचको विकास भएको बताउँदै तर आफूले त्यस्तो हुन नदिने बताए । उनले पशुपतिनाथको दर्शन गर्ने कुरालाई शुभकार्य गर्दा आफ्नो पितृ, आफ्नो आस्थाका देवी देवतालाई सम्झिने सनातन धर्मको परम्परा भएको बताए । 

उनले भने, ‘पशुपति गएर पदभार ग्रहण गर्नु हामी सनातन धर्ममा विश्वास गर्ने मानिसहरुले शुभकार्य प्रारम्भ गर्दा वा गरिसकेपछि आफ्ना पितृलाई सम्झिने, भगवानहरुलाई सम्झिने, आफ्नो आस्ताका देवी देवतालाई सम्झिने परम्परा हो । सोही परम्पराअनुसार हामी सबैका आराध्यदेव शिवको दर्शन गर्न पशुपति गएको हो ।’ 

विगतमा भएका कामहरुलाई समेत ध्यानमा राखेर आगामी पाँच बर्षमा उर्जा, जलस्रोत र सिंचाइका क्षेत्रमा गर्ने कामको लागि आफू लागिपर्ने बताउँदै उनले योजनावद्ध ढंगले प्राथमिकतामा राखेर गर्नुपर्ने कामहरु के के हुन् ? तिनको आवश्यकता र प्राथमिकता निर्धारण गर्न कार्यदल पनि बनाइसकेको बताए । 

योजनावद्ध ढंगले काम गरियो भने मात्रै ठोस परिणाम प्राप्त हुने लिङदेनको भनाई छ । उनले मन्त्रालयहरु कुनै पनि राम्रो नराम्रो हुँदैन्, सबैको आ–आफ्नो महत्व छ भन्दै नेपालको सन्दर्भमा उर्जा, जलस्रोत र सिंचाई मन्त्रालयको जिम्मेवारी लिन पाउनु आफ्नो लागि महत्वपूर्ण अवसर भएको बताए । 

Advertisement

Advertisement