संविधान च्यात्न ओली ढुकेर बसेको मेटमणिको आरोप, ‘संसद्‍मा संविधान च्यात्नेहरू बलियो बने’

Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले संविधान च्यात्न पूर्वप्रधानमन्त्री केपी ओली ढुकेर बसेको आरोप लगाएका छन् । शनिबार संसदमा बोल्ने क्रममा उनले संसद्‍मा संविधान च्यात्न र मास्न खोज्नेहरूको उपस्थिति जबरजस्ती बलियो बनिरहेको बताए ।

संविधानको व्यवस्था व्यवहारिक कार्यान्वयन नगर्ने हो भने त्यो कार्यान्वयन गर्नका लागि होइन भनेर घोषणा गर्न प्रस्ताव गर्दै चौधरीले भने, ‘संविधानलाई नष्ट गर्नका लागि पूर्वप्रधानमन्त्री ढुकेर बसिरहनुभएको छ । त्यस्ता व्यक्तिहरूको उपस्थिति संसद्‍मा महत्त्वपूर्ण भयो भने फेरि संविधान च्यात्ने काम हुनसक्छ, संविधान धुजाधुजा हुनसक्छ ।’ सेटिङमा देश चलाउन चाहनेहरू सधैँ शक्तिशाली हुँदा संविधान र कानुनको शासन ओझेलमा परेको चौधरीको भनाई छ ।

Advertisement

उनले संविधानको व्यवस्थाबमोजिम प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादव उपयुक्त हुने तर्क गरे । चौधरीले भने, ‘हाम्रो संविधानले भुगोल, जाति, लिङ्ग र वर्ग क्षेत्रको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको छ । त्यसअनुसार हो भने झापाबाट सभामुख निर्वाचित हुँदा उपसभामुखका लागि मुक्ताकुमारी यादव योग्य हुनुहुन्छ । म उहाँलाई संविधानको व्यवस्थाबमोजिम यो सदनको उपसभामुखमा निर्वाचित गर्न आव्हान गर्दछु । यदि होइन भने हामी नेपालको संविधानको व्यवस्था देखाउनकालागि हो, भन्नका लागि हो, कार्यान्वयन गर्नकालागि होइन भनेर घोषणा गरौँ ।’

Advertisement

Advertisement