बढ्दो विदेशी ऋणले नेपाल पनि श्रीलंका हुने हो कि भन्ने डर बढ्योः पौडेल

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै दलहरुलाई एकतावद्ध भएर अघि बढनुपर्ने मुलुकको अवस्था रहेको बताउँदै राष्ट्रिय सहमतिमा जोड दिएका छन् । 

मंगलबार संसदमा बोल्दै उनले राष्ट्रलाई बचाउनका लागि सबै राजनीतिक दलहरुले एकतावद्ध भएर अघि बढनुपर्नेे बेला आएको बताए । पौडेलले मुलुकमा निराशाको कालो बादल मडारिएको उल्लेख गर्दै त्यसलाई फटाउनका लागि पनि दलहरु एक ठाउँमा उभिएर अघि बढनुपर्ने तर्क गरे । 

Advertisement

उनले सत्ता राजनीतिको दवदवाले निष्ठाको राजनीति किनारामा पर्दै गएको भन्दै चिन्ता समेत व्यक्त गरे । पौडेलले वर्तमान संविधानमाथि देशभित्र र बाहिरबाट समेत प्रहार भईरहेको भन्दै त्यसलाई जोगाउन पनि काँग्रेस र कम्युनिष्ट दुवै शक्तिहरुले मिलेर अघि बढनुपर्ने बताए । 

उनले भने, ‘यो संविधान ल्याउनका लागि देशभित्र र बाहिर सबैबाट षडयन्त्र भईरहेको छ । यसलाई बचाउनका लागि सबै दलहरु एक ठाउँमा हुने कि नहुने ? यसलाई जोगाउनका लागि एक ठाउँमा हुने कि नहुने ? काँग्रेस र कम्युनिष्ट एक ठाउँमा मिल्ने कि नमिल्ने ? यी दुईटा ल्याएको यो व्यवस्था हो । त्यसकारण यतातिर पनि हामी गम्भीर हुन जरुरी छ । राजनीतिक अस्थिरताबाट देशलाई जोगाउनु छ । र, अराजतकताबाट देशलाई बचाउनु छ । लोकतन्त्र जकडिएको अवस्थामा छ । मैले फिल गरिरहेको छु– लोकतन्त्र जकडिएको अवस्था छ । अति दलबन्दीबाट लोकतन्त्र जकडिएको अवस्थामा छ । पूर्वाग्रहहरुबाट लोकतन्त्र जकडिएको अवस्थामा छ । र, यो विभाजित मानसिकताबाट लोकतन्त्र जकडिएको अवस्थामा छ । विभिन्न राजनीतिक सत्ताको खेलबाट लोकतन्त्र जकडिएको अवस्थामा छ । र, यो जकडिएको लोकतन्त्रलाई कसरी जोगाएर सबल बनाएर अगाडि बढाउने । यसको लागि पनि सहमतीको खोजी गर्नु पर्छ कि पर्दैन ? म यो प्रश्न गरिरहेको छु ।’ 

पौडेलले थपे, ‘हाम्रो सामाजिक, सांस्कृतिक स्खलन पनि डरलाग्दो छ । सामाजिक मूल्यहरुको स्खलन, सांस्कृतिक मूल्यहरुको स्खलन त्यो भईरहेको छ । यो पनि एउटा राष्ट्रिय संकटको रुपमा छ । यो संकटबाट मुक्त हुनका लागि एक हुने कि नहुने ? यो प्रश्न छ सभामुख महोदय । र, यो नकारात्मक र निराशाका घण्टीहरु भर्खरै बजिरहेका छन । नकारात्मक प्रवृत्तिहरु जुन किसिमले आईरहेका छन । र, यसलाई हामीले कसरी सकारात्मक दिशा दिने, कसरी ती असन्तुष्टिहरुलाई ठिक ठाउँमा ल्याउने दायित्व पनि हाम्रो हो कि होइन ? बजिसक्यो असन्तुष्टि घण्टी, त्यसलाई सम्बोधन गर्ने कि नगर्ने ? त्यसका लागि एकताको आवश्यकता पर्छ कि पर्दैन ? यो पनि मेरो प्रश्न छ । वास्तवमा मलाई भनौ कि नभनौं–नेतृत्वको अभाव जस्तो अनुभव हुँदैछ । राष्ट्रिय नेतृत्वको अभाव । र, राष्ट्रिय नेतृत्वको अभाव मात्रै होइन् । राष्ट्रिय आत्मविश्वासको अभाव । यहाँ सानासाना कुरामा पनि हामी त कही गईहाल्यो नि भन्ने । आत्मविश्वास छैन् । आफूप्रति विश्वास छैन् । राष्ट्रिय आत्मविश्वासको पनि अभाव आज यो राष्ट्रिय संकटको रुपमा देखिराखेको छु ।’ 

सत्ताको राजनीतिको दवदवा र निष्ठाको राजनीति किनारा लाग्दै जाने, कुनाकुना पाखातिर जाने, निष्ठाको राजनीति किनारा लाग्दाखेरीमा असन्तुष्टि बढ्दै गएको बताउँदै उनले आज नेतृत्वले विश्वास गुमाएकै गएको बताए । पौडेलले त्यसलाई हामीले महसुस गर्नुपर्ने बताए । 

उनले भने, ‘लक्ष्यदार भाषणा १०–१५ मिनेट गएको गएकै छ । निशाना एकातिर हुन्छ त्यो भाषणको । लाष्टमा गएर के भन्छ–भोटमा म यता हाल्छु । निशाना उतापट्टी छ । भोट चाँही मैले यता हाल्नु पर्छ । यो कुन विरोधभाषमा हामी बाँचेका छौं । यस्तो विरोधाभाषबाट हामीले मुलुकलाई जोगाउनुपर्नेछ । हामी आफैं भित्रका विरोधाभाषहरुबाट हामी माथि उठने कि नउठने ? आज नेपालीले छातीमा हात राखेर, हामीआफै भित्रको विरोधाभाषबाट माथि उठेर यो राष्ट्रलाई जोगाउने कि नजोगाउने ?’ 

नेता पौडेलले रेमिटयान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाई मुलुकको समृद्धिमा योगदान दिने काममा ढिलाई गर्न नहुने पनि बताए । मुलुकको राजश्वले चालु खर्च नै नधान्ने अवस्था रहेको र विदेशी ऋणको भारी बढ्दै गएको बताउँदै उनले ऋण बढ्दै जाँदा कतै नेपाल पनि श्रृलंका हुन्छ कि ? भन्ने चिन्ता बढ्दै गएको बताए । विदेशी अनुदान घट्ने तर ऋण दिन भने विदेशीहरु तयार हुने कुरा चिन्ताको विषय भएको उनको भनाई छ । पौडेलले बिग्रदो आर्थिक अवस्थाबाट देशलाई जोगाउन पनि राष्ट्रिय सहमति जरुरी रहेको बताए । 

Advertisement

Advertisement