भूकम्पको बेलामा पनि र नाकाबन्दीको बेलामा पनि भारत नेपालप्रति चिन्तित थियोः उपाध्याय

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायले नेपाल–भारत सम्बन्धलाई नयाँ आयाममा अघि बढाउन दुवै देशका सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । 

रिपोर्टर्स क्लबमा बुधबार उनले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशको बीचमा रहेका समस्या पनि हल गरिनुपर्नेमा जोड दिए । 

Advertisement

भारतको ७५औं स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा उपाध्यायले भने, ‘भारतले भोलि आजादिका अमृत्त महोत्सव मनाउने भनेको छ । नेपाल–भारत सम्बन्ध बहुआयामिक छ । वैदिक, सनातन, धर्म र संस्कृतिमा गहिरो सम्बन्ध छ । जहाँ प्रगाढ सम्बन्ध हुन्छ, त्यहाँ समस्या पनि अन्तरनिहीत छ । राजदूतको रुपमा मैले काम गर्दा, २ वर्ष मैले भूकम्प र नाकाबन्दीको बेलामा अप्ठ्यारो अवस्थामा कुटनीतिक सेवा गर्ने मौका पाएँ ।’

उनले भारतलाई पनि नेपालको अत्यन्तै ठूलो साथ र सहयोग रहेको उल्लेख गरे । थपे ,‘उनीहरुको उद्योग र व्यवसायमा हाम्रो योगदान छ । भारतीय सेनामा हाम्रा नेपालीहरु छन् । भारतको स्वतन्त्रताको आन्दोलनमा पनि हाम्रा नेताहरुको प्रत्यक्ष संलग्नता थियो । चन्द्रशखेरले सधैं भन्नुहुन्थ्यो–नेपालको ऋणबाट भारत कहिल्यै ऋणमुक्त हुन सक्दैन् भनेर । भारतको सुरक्षाको लागि नेपाली युवाहरुले रगत बनाएका छन् । त्यसको ऋण चुक्ता गर्न सक्दैनौं भन्नुहुन्थ्यो ।’

भारतजस्तो देश नेपालको छिमेकी हुन नेपालको सौभाग्य भएको पनि उपाध्यायले उल्लेख गरे । उनले भने, ‘नेपालको लागि सुखद कुरा हो, दक्षिणतर्फ सबभन्दा ठूलो जनसंख्या भएको देश भारत छ । उत्तरतर्फ चीन छ । आर्थिक प्रगति हाँसिल गरेका भारत र चीन छन् । यसलाई नेपालले सही सदुपयोग गर्नुपर्छ ।’ 

उपाध्यायले कुटनीतिमा सधैं राम्रो राम्रो मात्रै कुरा हुने सुनाए । उनले भने, ‘कुटनीतिमा कहिल्यै पनि नमिठो कुरा हुँदैन् । नेपाल र भारतका बीचमा सिमा विवाद छ । पानीको बहुउपयोगको बारेमा पनि समस्या छ । पानीको सही उपयोग भयो भने वरदान हो । हामीबीच धेरै समस्या छन् । यस्ता समस्या भारत र बंगलादेशको बीचमा पनि छन् । नेपालको बारेमा सिमा समस्या समाधानको लागि बैठक नै बस्न नसक्नु दुःखद् हो । भारतले नेपालको उर्जा लिनुपर्छ । अनावश्यक विवाद हटाउने कुरा त्यहाँ पनि उठेका छन् । बंगलादेशमा पावर संकट छ । भुटानमा त्यस्तै छ । नेपालको पावरलाई बंगलादेशमा लैजानको लागि बिमस्टेकलगायतका विभिन्न फोरममा भारतको पुर्ण प्रतिबद्धता छ ।’

उपाध्यायले दुई देशबीच भएका समस्या समाधान गर्दा ‘कोही नहार्ने र कोही नजित्ने’ बाटो खोज्नुपर्ने सुझाव दिए । उनले भने, ‘अब छलफल गर्नुपर्छ । हिजो भूकम्पको बेलामा पनि नेपाल उठ्नुपर्छ भनेर भारतीयहरुले भनेका थिए, नाकाबन्दीको बेलामा पनि भारतीय चिन्तित थिए । नेपालको बारेमा नाकाबन्दीको समयमा संसद्मा छलफल भयो । सुष्मा र मोदीजीको सदासयताबाट नाकाबन्दीको समस्या समाधान भएको थियो । भारतको उदार दृष्टिकोणको आवश्यक छ । भारत र नेपाल सरकारले यस्तो काम नगरुन, ताकी एक–अर्काको देशका जनताको मन दुःखोस ।’

उनले नेपाल र भारतबीच रहेको व्यापार घाटा कम गर्नेगरि काम गर्नुपर्ने बताए । त्यसको लागि भारतले नेपालको विजुलीको लागि बजारको सहजीकरण गरिदिनुपर्ने उनको भनाई छ । उनले भने,‘भाषणा गरेर भन्दापनि वार्तामा बसेर समाधान गर्नुपर्छ । नेपाल र भारतका अपेक्षाको बारेमा बुद्धिजिवीस्तर, मिडियास्तरबाट पनि कुरा उठाउनुपर्छ । नेपालका सबै दलबाट प्रधानमन्त्री भैसकेका व्यक्तित्वहरु हुनुहुन्छ । उहाँहरु सबै पदमा पुगेको व्यक्ति हुनुहुन्छ । हाम्रो सम्बन्ध नयाँ आयामसहित अघि बढाओस । भारतबाट सकारात्मक पहल होस ।’

Advertisement

Advertisement