एकाबिहानै विमानस्थल पुगेका पर्यटनमन्त्रीले भने-‘क्रमिक सुधार भएको छ, म आंशिक सन्तुष्ट छु’

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले तेस्रोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । आज बिहानै साढे पाँच बजे विमानस्थल पुगी मन्त्री किरातीले विमानस्थलमा क्रमिक सुधार भएको छ वा छैन् भनेर अनुगमन गरेका छन् ।

तेस्रोपटक अनुगमनमा पुग्नुभएका मन्त्री किरातीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए । उनले भने, ‘यो नै पूर्ण सुधार होइन । तर, क्रमिक सुधार भएको छ । यसबाट म आंशिक सन्तुष्ट छु ।’ एयरपोर्टको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्युआर कोड संचालनमा ल्याइनुले सेवाग्राहीलाई थोरबहुत सहज बनाउने अपेक्षा समेत मन्त्री किरातीले गरेका बताए । कर्मचारीले हरेक ३० मिनेटमा शौचालय अनुगमनको व्यवस्था समेत एयरपोर्टमा गरिएको छ । यसले आफूलाई नभएर सेवाग्राहीलाई सन्तुष्ट बनाउने मन्त्री किरातीले बताए  ।

Advertisement

सेवाग्राहीको सहजता नै आफ्नो पहिलो प्राथमिकता रहेको पनि उनको भनाइ छ । उनले भने, ‘यहाँ भएका सुधारहरु मेरा लागि होइन । तपाईंहरुको मिहेनत र परिश्रमले सेवाग्राहीलाई सहज वातावरण बनाउनेदेखि हाम्रो एयरपोर्टप्रति उहाँहरुलाई अपनत्व पनि महसुस गराउनेछ ।’

साथै, मन्त्री किरातीले पाँच सय ट्रलीको मूल्यंकन गरी आर्थिक प्रस्तावना समेत तयार गर्न निर्देशन दिएका छन् । १५ सय चक्का लगायत पार्टस् खरीदका लागि बोलपत्र आह्वान पनि गरिएको छ । बिग्रिएका ट्रलीका चक्का मर्मत समेत भएको छ । त्यस्तै, उनले सुरक्षा जाँचका लागि स्क्यानरको व्यवस्था गर्न विमानस्थल व्यवस्थापनलाई सुझाव समेत दिए ।
 

Advertisement

Advertisement