काठमाडौं । नेपाल बचाउ महाभियानका संयोजक तथा व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमालेले आफूलाई कारवाही गर्दै केन्द्रीय सदस्यबाट हटायो भने पार्टी अध्यक्ष भएर प्रधानमन्त्री हुने र २० लाखसम्म ऋण लिएका लाखौं जनतालाई ऋणको चंगुलबाट मुक्त गर्ने बताएका छन् ।
प्राइम टिभीको एक कार्यक्रममा शुक्रबार उनले भने, ‘हिजो माओवादीले कारवाही गर्दा एमालेको केन्द्रीय सदस्य भएँ । आज एमालेले कारवाही गरे पार्टी अध्यक्ष भएर प्रधानमन्त्री छिटो हुन्छु । यो कुरा लेखेर राख्नुस् । त्यो हैसियत भएको मान्छे हो ।’
प्रधानमन्त्री भएपछि देशलाई निकास दिने, बीस लाखसम्म ऋण लिएका लाखौं जनातालाई ऋणको चंगुलबाट मुक्त गर्ने र त्योभन्दा माथिको ऋण चारदेखि छ प्रतिशत ब्याजरमा दिलाउने अठोट प्रसाईंको छ । उनले आफू अहिलेको नेता जस्तो नभएको बताउँदै काम गरेर देखाउने साहस पनि रहेको बताउँदै सबै कुरा अहिले नै योजना नबताउने बताए ।
अभियान्ता प्रसाईंले धेरै नेता र व्यापारीले यूएईको दुवईमा जम्मा गरेको बताउँदै त्यो पैसा एक दिन नेपाल फर्काउने बताउँदै नेपाल आयल निगम, सञ्चय कोष, नागरिक लगानी कोष जस्ता निकायमा रहेको सरकारी पैसा बैंकमा राखेर सरकारले नै ब्याज खाने प्रवृत्ति अन्त्य गर्ने हो भने बैंकको ब्याजर स्वतः घट्ने र बैंकहरुलाई पनि समस्या नहुने बताए ।
उनले लघुवित्त संस्था र सहकारीको ऋणको बोधले धेरै युवा विदेशिन बाध्य भएको, धेरै महिलाहरु गाउँ छोडेर हिंड्न बाध्य भएको, कोही आत्महत्या र आत्मदाह गर्न बाध्य भएको सुनाउँदै यो स्थिति चाँडै अन्त्य नगर्ने हो भने देशमा ठूलो आर्थिक संकट आउने बताउँदै त्यसको निकास अहिलेको गणतन्त्र र अहिलेका नेताहरुले दिनसक्ने बताए ।
भिडियोः