आठ दलबीच राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउने कुनै सहमति नभएको ओलीको दावी

Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले काँग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नबनेको दावी गरेका छन् । अध्यक्ष ओलीले पार्टीको तर्फबाट सुवाषचन्द्र नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् । 

ओलीले आठ दलबीच राष्ट्रपतिमा काँग्रेसलाई सघाउने कुनै पनि सहमति नभएको जिकीर समेत गरे । सत्तारुढ गठबन्धन तलमाथि नभएकाले आफूहरुको उम्मेदवार नेम्वाङ अत्याधिक मतका साथ राष्ट्रपति पदमा विजयी हुने अध्यक्ष ओलीले बताए । 

Advertisement

ओलीले नेम्वाङलाई राष्ट्र र जनताको सर्वोपरी हितलाई ध्यानमा राखेर राष्ट्रपति पदको उम्मेदवार बनाएको बताए । उनले भने, ‘हामीले हाम्रो पार्टीको तर्फबाट र खासगरी नेपाली जनताकै तर्फबाट देशभक्त, लोकतान्त्रिक, सुशासन र विकासका पक्षधर शक्तिहरुको तर्फबाट अत्यन्तै अनुभवी, कानुनविद्, लामो समय सभामुख जस्तो गरिमामय पदमा रहेर जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नु भएका, संविधान निर्माणका संविधानसभा अध्यक्षको हैसियतले महत्वपूर्ण भूमिका पूरा गर्नु भएका सफल राजनीतिज्ञको रुपमा परिचित माननीय सुवाषचन्द्र नेम्वाङजीलाई आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको रुपमा उठाएका छौं ।’ 

उनले थपे, ‘विधिपूर्वक हामीले यो उम्मेदवार उठाएका छौं । र, उम्मेदवार दर्ताको निस्सा पनि हामीले बुझाएका छौं । मैले विश्वास लिएको छु पार्टीको तर्फबाट–हामीले आफ्नो दलीय स्वार्थ होइन् राष्ट्रिय स्वार्थका लागि, राष्ट्रको हितका लागि, जनताको हितको लागि, संविधानको रक्षा, कार्यान्वयन, सही सफल कार्यान्वयनका लागि, प्रणालीको रक्षा, सफल प्रयोग र प्रवद्र्धनका लागि यो उम्मेदवारी उठाएक हौं । हाम्रो उम्मेदवारी सर्वत्र स्विकार्य मात्रै होइन । स्वागतको विषय बन्नेछ । र, हरेकले, हरेक मतदाताले र मतदाताका निम्ति मतदानका निम्ति प्रेरित गर्ने मिडिया, सामाजिक सञ्जाल सबैतिरबाट पनि हामीले साथ, सहयोग प्राप्त गर्नेछौं । सिंगै नेपाली जनताको साथ, सहयोग हामीलाई हुनेछ । र, अत्याधिक मतका साथ हामीले विजय हासिल गर्नेछौं भन्ने मैले विश्वास लिएको छु ।’ 

Advertisement

Advertisement