मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न स्वीकृति दिएको छैन्ः दाहाल
मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न स्वीकृति दिएको छैन्ः दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको दावी गरेका छन् । नेकपा एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाइरहेको बेला दाहालको यस्तो भनाई आएको हो ।
मंगलबार आयोजित एक कार्यक्रममा उनले अहिले मुस्ताङको विषयमा बडो चर्चा भइरहेको उल्लेख गर्दै त्यहाँ स्थानीय तहले विश्वविद्यालय भन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाईरहेको आफूले पाएको बताए । ओलीको नाम नलिई दाहालले आफूले सो चर्चाको विषयमा कसैलाई आरोप÷प्रत्यारोप गर्ने पक्षमा नरहेको बताए ।
नेता दाहालले मुस्ताङमा भएको खनिज पदार्थबारे स्वदेशमा भन्दा पनि विदेशीहरु बढि जानकार रहेको आफूले सुनेको बताउँदै मुस्ताङमा भएको अमूल्य खनिज पदार्थ (युरेनियम)को ठिक ढंगले उपयोग गर्न सकियो भने मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने बताए ।
दाहालले भने, ‘अहिले मुस्ताङको विषयलाई लिएर बडो चर्चा÷परिचर्चा हुने गरेको छ । मुस्ताङमा युनिभर्सिटी खोल्ने रे । मुस्ताङमा अलि धेरै मान्छेको ध्यान छ । मुस्ताङको बारेमा धेरै पहिलेदेखि चर्चा, परिचर्चा हुने गरेको पनि छ । मुस्ताङमा अमूल्य खनिज पदार्थहरु छन । र, त्यो खनिज पदार्थको उत्पादन र उत्खनन् र त्यसको प्रेसेस मात्रै हामीले ठिक ढंगले गर्न सक्यौ भने सयौं वर्षका लागि नेपालीहरुको आर्थिक स्थिति संसारकै उच्च बनाउन सकिन्छ रे भन्ने चर्चा पनि छन् । हामी नेपालीहरुले भन्दा विदेशीहरुले अघि बढि मुस्ताङ र त्यहाँ भएको प्राकृतिक स्रोत खनिज पदार्थबारे बढि जानकारी राख्छन भन्ने पनि तपाईं हामीले सुन्दै आएको पनि हो ।’
प्रधानमन्त्री दाहालले मुस्ताङ मात्रै नभएर मुलुकको विभिन्न भागमा विभिन्न किसिमका प्राकृतिक स्रोतहरु रहेको पनि बताए ।