सुन्दरीजल पुगेर पौडेलले भने– अहिलेको व्यवस्था विपीले २००७ सालमै कल्पना गरेका थिए

Advertisement

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्न नहुने बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रवार विपी संग्रहालय सुन्दरीजल पुगी स्वर्गीय नेता विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा माल्यार्पण गरेपछि उनले देशलाई नयाँ दिशा दिनु आजको आवश्यकता भएकाले त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य भएको बताए । 

पौडेलले देशमा आएको परिवर्तन गणतन्त्र र समावेशी व्यवस्थालाई जर्गेना गर्न आवश्यक रहेको पनि बताए । उनले समावेशी व्यवस्थालाई चिरस्थायी बनाउँदै समसामयिक सुधार गर्नुपर्नेमा जोड दिए । देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै पौडेलले जनताको निराशालाई आशामा परिणत गर्ने बताए । 

Advertisement

उनले भने, ‘जनताको हातमा सम्पूर्ण सत्ता ल्याउनको लागि विपी कोइराला लगायतका नेताहरुले जुन बलिदान गर्नुभयो । जसरी देशलाई नयाँ दिशा देखाउनु भयो । आज त्यो नयाँ दिशालाई साकार पार्ने मेरो कर्तव्य हो । देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रीक व्यवस्थालाई हामीले जर्गेना गर्नुपर्छ । यसैको मातहत रहेर संविधान सभाको २००७ सालमा बिपीले परिकल्पना गर्नुभएको थियो । त्यो संविधान सभाबाट नेपालमा जनताबाट निर्वाचित प्रतिनिधिबाट निर्मित संविधानको निर्माण भएर यो व्यवस्थाको टुङ्गो लागेको छ । अब यो व्यवस्था हामीले चिरस्थायी बनाउँदै यसमा समसामयिक सुधार गर्नुपर्ने भए गर्ने तर यसैलाई हामीले साकार बनाउन कार्यान्वयनमा ल्याउनुपर्छ ।’ 

राष्ट्रपति पौडेलले देशले सुशासन खोजेको बताए । उनले संग्रहालयमा वृक्षारोपण गर्नुका साथै संग्रहालयको अवलोकन गरे । 

Advertisement

Advertisement