एमालेले छान्यो तनहुँ– १ र चितवन– २ को उम्मेदवार, ‘मिटर ब्याज पीडितको समस्या समाधान गर’

Advertisement

काठमाडौं । नेकपा (एमाले)ले आगामी बैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ र तनहु क्षेत्र नम्बर १ को उपनिर्वाचनको लागि उम्मेदवार चयन गरेको छ । शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय सचिवालय बैठकले उम्मेदवार चयन गरेको हो । 

निर्णयअनुसार चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रामप्रसाद न्यौपाने र तनहु क्षेत्र नम्बर १ को उपनिर्वाचनमा सर्बेन्द्र खनाललाई उम्मदवार बनाउने निर्णय गरिएको छ । 

Advertisement

पार्टीको सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटीको सिफारिसमा दुवैलाई उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरिएको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । तर, एमालेले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भने भोली (आईतबार) सम्म उम्मेदवार तय गर्ने जनाएको छ । 

त्यहाँको तरल राजनीतिक अवस्थाका कारण आज र भोलीसम्म थप छलफल गरेर सो क्षेत्रमा उम्मेदवार तय गर्ने निर्णय पनि बैठकले गरेको गुरुङले बताए । त्यसका लागि आवश्यक छलफल गरेर निर्णय लिने जिम्मेवारी भने बैठकले अध्यक्ष केपी ओलीलाई दिएको छ । 

त्यसैगरी, एमालेले मिटर ब्याज पीडितहरुको समस्या समाधानका लागि ठोस, सार्थक र शिघ्र पहल गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएको छ । मिटर ब्याज असुल गर्ने कामलाई अपराध ठहर्याउने गरी कानुनी व्यवस्था गर्न र त्यस्ता अपराध कर्ममा लागेकाहरुलाई तत्काल कडा कानुनी कारबाही गर्न पनि बैठकले सरकारसँग माग गरेको पार्टीका प्रचार विभाग प्रमुख गुरुङले बताए । 

नागरिकहरु मिटर ब्याजको पासोमा पर्ने स्थिति निर्माण हुनुको मुख्य कारणमा आम नागरिकसम्म वित्तिय पहुँच नहुनु र वित्तिय संस्थाहरु नागरिकहरुप्रति संवेदनशील एवम जवाफदेही नबन्नु समेत भएकाले वित्तिय संस्थाहरुलाई नागरिकको आवश्यकता, समस्या र चासोप्रति संवेदनशील हुने व्यवस्था गर्न हाम्रो पार्टी सम्वद्ध सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउने निर्णय पनि एमालेले गरेको छ । 

Advertisement

Advertisement