काठमाडौं । सरकारले राजस्व अनुसन्धान विभागका उपसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरुको सरुवा गरेको हो ।
उक्त मन्त्रालय अहिले माओवादी केन्द्रका अमनलाल मोदीले सम्हाल्दै आए पनि राजश्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत रहँदै आएको छ । बढी कमाई हुने भएकाले यो विभागमा हाउन कर्मचारीबीच हानथान हुने गर्छ । पछिल्लो समय राजस्व अनुसन्धान विभाग विवादित संस्थाको रुपमा चिनिँदै गएको छ। व्यवसायीलाई दुःख दिएर सजिलै पैसा कमाउने अड्डाका रुपमा विभाग चिनिन थालेको हो ।
विभागमा नारायण सापकोटा महानिर्देशक भएपछि पहिलो पटक उपसचिवहरुको सरुवा गर्न लागिएको हो । उपसचिवहरु सुदर्शन श्रेष्ठ, मनोज रेग्मी, दिपेश लेखक लगायतको सरुवा भएको छ । यसैगरी, इश्वरी ढकाल, विनोद लामिछाने विभाग जाने तयारी गरेका छन् भने कार्यालय प्रमुखहरुको पनि धमाधम सरुवा सुरु गरिएको छ । बुटवल कार्यालयमा पशुपतिबाबु पुरी गएका छन् । उनी पूर्वमन्त्री रामकुमारी झाक्रीका श्रीमान हुन् । आफ्नो श्रीमानको सरुवा गराउन झाँक्री धेरै पटक प्रधानमन्त्री निवास बालुवाटार धाउँदै आएकी थिइन् ।
यसैगरी, राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा तीर्थ खनाल गएका छन् । महत्वपूर्ण कार्यालय मानिएको पथलैयामा भने तेजनारायण यादवलाई पठाइएको छ । यादव निक्कै विवादित कर्मचारी हुन् । उनले भ्रष्टाचारका मुद्दाहरु पनि खेप्दै आएका छन् ।
स्रोतका अनुसार केही महिनामा महानिर्देशक सापकोटाको सरुवा हुने र यसपछि काम गर्न सहज हुनेछ भन्दै कर्मचारीहरु धमाधम विभागमा सरुवा माग्दै आइरहेका छन् ।