भुटानी शरणार्थी प्रकरणः पीडितहरुले सामुहिकरुपमा दिएको निवेदन प्रहरी कार्यालयबाटै गायव

Advertisement

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाउने र अमेरिका पठाउने भन्दै रकम उठाउने गिरोहका एक सदस्यहरु पक्राउ परेको बेला प्रहरी कार्यालयमा रकम बुझाउने पीडितहरुले सामुहिकरुमपा दिएको उजुरी नै प्रहरी कार्यालयबाट गायब बनाइएको छ । 

अरु मानिसहरुलाई लगाएर पीडितहरुलाई मानसिक दबाब दिने, यसअघि दिएको निवेदन हरायो, नयाँ उजुरी देउ भन्ने, सामुहिकरुपमा नभई एक एक जनाले उजुरी देउ भनेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दबाब दिएको पीडितहरुको गुनासो छ । 

Advertisement

एक पीडितले भनिन्, ‘बाहिरका मानिसहरुलाई लगाएर जो पीडितहरु छन्, उनीहरुलाई नै अप्ठ्यारो पार्ने, किन उजुरी दिएको त ? भनेर हतोत्साही बनाउन खोज्ने, पीडितहरुले दिएको बयान फेर्न लगाउने, पहिला दिएको निवेदन हरायो, अर्को उजुरी हाल भन्ने काम भएको छ ।’ 

बिहीबार पनि प्रहरी कार्यालयले दिनभरी नै कहिले के कहिले के भनेर दुःख दिने र घर जान र खाना खानसमेत नदिएर अनावश्यक तनाव दिइएको पीडितहरुले आरोप लगाए । एक पीडितले भने, ‘ठगी गर्नेहरुलाई कारवाही गर्ला भनेको झन हामीलाई नै किन पैसा दिएको थिइस त ? भने झै अनावश्यक दुःख दिने, मानसिक दबाब दिने काम प्रहरीले गरेको छ ।’ 

यस ठगी प्रकरणमा नेपालीलाई भुटानी शरणार्थीको कार्ड बनाइदिएर उनीहरुलाई अमेरिका लैजाने भन्दै झण्डै साढे आठ सय जनाबाट प्रतिव्यक्ति १० लाख रुपियाँदेखि ५० लाख रुपियाँसम्म उठाउने काम भएको थियो । योजनाअनुसार उनीहरुलाई अमेरिका लैजान नसकेपछि पीडितहरु समूह समूह र व्यक्तिगत रुपमा पनि प्रहरीमा उजुरी दिएका थिए । 

ठूला राजनीतिक दलका नेताहरुदेखि गृहसचिवसम्मको संलग्नत देखिएको यस प्रकरणमा दोषीहरुलाई जोगाउन निकै प्रयास भइरहेको छ । तर पीडितहरुले निकै धाएर दबाब सिर्जना गरेपछि प्रहरीले बाध्य भएर रकम संकलनमा सलग्न पाँच जनालाई मात्रै अहिलेसम्म पक्राउ गरेको छ । बयानकै क्रममा पछिल्लो पटक पक्राउ परेका सन्देश शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी कार्यालय टेकु लगेर बयान लिएको थियो । 

पहिलाको जाहेरी हराएको भन्दै हरेक पीडितले जाहेरी लेख्नुपर्छ भन्दा आफूहरुले फेरि अर्को सास्ती खेप्नुपरेको र थप व्ययभार बढेको भन्दै पहिले कै निवेदनमा सबै प्रमाणसहित पेश गरिसकेको अवस्थामा फेरि हरेकले अर्को जाहेरी दिने भन्ने कुरा बदलिनयतपूर्ण रहेको बताए । 

यता काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्रसिंह राठौरले भने आफूहरुले पीडितको पहिला दिएको निवेदन हराएको कुरा अस्वीकार गरे । उनले भने, ‘पहिला निवेदन दिएको होला । अहिले जाहेरी देउ भनेको होला । प्रहरी कार्यालयबाट कहाँ निवेदन हराउँछ ?’ जाहेरी दस्तुरविना अदालतले अमान्ने राठौरले बताए । 

यो पनि पढ्नुहोस्ः 

भुटानी शरणार्थी प्रकरणमा करोडौं भ्रष्टाचारको खुलासा, दर्जनौं पीडितले दिए उजुरी, कनेक्शन आरजुसम्म

Advertisement

Advertisement