बिपीको मार्ग छोडेर काँग्रेसका अर्थमन्त्रीहरुले गलत नीति लिएको महशुस
बिपीको मार्ग छोडेर काँग्रेसका अर्थमन्त्रीहरुले गलत नीति लिएको महशुस
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठमा सो पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको स्वीकार नगरेको बताएका छन् ।
सोमवार संसद भवनमा बसेको बैठकमा निराश हुँदै उनले उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको बताएका हुन् । पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता रहेको बताएको कांग्रेस नेता रामहरि खतिवडाले जानकारी दिए ।
देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने ? भन्नेबारेमा पनि सांसदहरुसँग चासो राखेको बताए । उनले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताए ।
सांसदहरुले छोटो समय देशको नेतृत्व गरेका बिपीपछि काँग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए । सांसदहरुले आगामी बजेटमा जनताका माग कसरी सम्बोधन गर्ने ? पूराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेको खतिवडाले बताए ।
उनले भने, ‘नेपाली काँग्रेस संसदीय दलले अब केही समयपछि आउने बजेटमा सांसदहरुको धारणा के छ ? भन्नेकुराको बारेमा छलफल गरेको छ । पार्टी सभापतिज्यूले अहिले देशको विषम परिस्थिति छ । यसलाई अब कसरी लैजाने ? उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ भनेर केही कुरा राख्नुभयो । अझ पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता छ । त्यो सँगै काँग्रेसले बजेट ल्याउँदाखेरी जनतालाई सम्बोधन गर्ने खालका कार्यक्रम आउनुपर्छ । साना साना जनतासँग जोडिने खालका कार्यक्रम आउनुपर्छ । बिपी काईरालाले छोटो समय देशको नेतृत्व गर्दा जनतासँग जोडिने कार्यक्रम ल्याउनुभयो । अरु बेला काँग्रेसका अर्थमन्त्री धेरै भए, धेरै कार्यक्रम जनताको पक्षमा आएनन् कि भन्ने चिन्ताको विषय धेरै सांसदहरुले उठाउनुभएको छ ।’