काठमाडौं । सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जोकोहीलाई पनि कारबाही हुने बताएका छन् ।
शनिबार संवाद डबलीमा बोल्दै उनले यस प्रकरणका दोषीमाथि कारबाही हुने बताएका हुन् । सभामुख रहँदा आफ्नौ कार्यालयकी कर्मचारी रोशनी शाहीसँगको अनैतिक सम्वन्धका कारण विवादमा परेका महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई कारवाही गर्ने कुरामा कुनै पनि खालको भेदभाव नहुने बताए ।
उनले भने, ‘जो दोषी छन्, तिनी कारबाहीको दायरा भित्र पर्दछन । जो दोषी छैन्, त्यो त कारबाहीको दायराभित्र पर्ने कुरा भएन । सरकार भित्र हुन वा बाहिर, दोषीलाई कारबाही हुन्छ । त्यसमा कुनै भेदभाव हुँदैन ।’
उपाध्यक्ष महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकार नढल्ने दावी पनि गरे । स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि बहुमत रहेकाले वर्तमान सरकार कायमै रहने महराको तर्क छ ।
उनले सरकारलाई विश्वासको मत लिन पनि कुनै समस्या नभएको बताए । महराले भने, ‘पहिलो कुरा, सरकारको बारेमा के हुन्छ भन्ने कुरा आएको छ आजभोली । जस्तो यो मोर्चामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि थियो । अव सरकारमा सहभागी हुने वा नहुने विषयमा आजको मितिहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा नहुने भन्ने आएपछि सरकार के हुन्छ त ? भन्ने जिज्ञासा हुन सक्दछ । यस विषयमा सामान्यतः सरकारलाई सहयोग गरेको पार्टीले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने हुन्छ । तर सरकारसँग रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी नभएपनि पर्याप्त बहुमत छ । बहुमतको अभाव छैन । त्यसकारणले सरकार टिक्छ । सरकार यथावत रहन्छ । र, विश्वासको मत पनि जित्छ भन्ने आधार छ । त्यसकारण यसमा मैले कुनै दुविधामा नरहन पनि पत्रकार मित्रहरुलाई आग्रह गर्न चाहन्छु ।’
उनले समाजवादी मोर्चा घोषणाका लागि आफूहरु प्रयासरत रहेको समेत बताए । त्यसका लागि नेकपा (समाजवादी पार्टी), जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपासहितका ६ वटा राजनीतिक पार्टीसँगको छलफल जारी रहेको महराको भनाई छ ।