काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा नीतिगत स्थिरता हुनुपर्ने बताएका छन् । नानसँगको कुराकानीमा उनले संसदको स्थिरता सँगसँगै देशमा नीतिगत स्थिरता पनि आवश्यक रहेको बताए । आगामी पाँच वर्ष संसद स्थिर रहने भए पनि सरकार अस्थिर रहने अवस्था रहेको उल्लेख गर्दै शर्माले नेपालले नीतिगत सुनिश्चितताको बाटो रोज्नुपर्ने बताए ।
सरकार फेरबदल भइरहे पनि देशले हिँड्ने बाटो स्पष्ट हुनुपर्ने उनको तर्क छ । शर्माले देशमा सम्भावनासँगै चुनौति पनि रहेको उल्लेख गर्दै देशमा राम्रा काम भएपनि राजनैतिक अस्थिरताले सबैलाई बिद्रोही बनाएको उल्लेख गरे ।
पछिल्लो समय आफैँले लागू गरेको व्यवस्थाले नै अस्थिरता ल्याएको त होइन ? भन्ने संशय नागरिक समाजमा देखिन थालेको शर्माको स्वीकारोक्ती थियो । उनले राजनैतिक व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्थामा परिवर्तन आउन नसक्दा चरम निराशा छ भन्दै नागरिकको अपेक्षा अनुसारको स्थिर सरकार बन्न सकिरहेको छैन् भने । यसले पनि देश भित्रको समविकासमा चुनौति थपेको शर्माले बताए
अहिले देशले भोगेको आर्थिक मन्दी र राजनैतिक उत्तारचढावले झनै चुनौति थपेको महामन्त्री शर्माले बताए । संविधान स्थिर भए पनि त्यसले बनाउने सरकार स्थिर हुन नसक्ने यथार्थ नेपालमा रहेको उल्लेख गर्दै उनले देश विकासमा नीतिगत स्थिरता दिनसके सरकारहरु बदलिए पनि समग्र विकासमा असर नपर्ने बताए ।
शर्माले देशको अन्तर्राष्ट्रिय सम्बन्धमा पनि नीतिगत सुनिश्चिता गर्नुपर्ने बताए । उनले मन्त्री फेरिएसँगै देशको नीति बदलिनु नहुने बताए । नेपालले छिमेकी मुलुकहरु चीन र भारतका साथसाथै अमेरिकासँग समेतको सम्बन्धलाई एक ठाउँमा गाँसेर जान जरुरी रहेको बताए । शर्माले भने, ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा हामीले एउटा नीतिगत सुनिश्चितता गर्नुपर्यो । सरकार बदलिन्छ । देशको नीति किन बदलिने ? मन्त्री आउनुहुन्छ अनि मन्त्री आए अनुसार कुन देशलाई हेर्ने दृष्टिकोण के हुने ? भन्ने कुरा किन बनाउने ? अहिले विश्व राजनीतिमा दक्षिण एशियाली भुगोल, एशियाली भुगोल संसारको केन्द्र बनिरहेको छ । हिजो द्वन्द्व पश्चिमी भुगोलतिर थियो । आज यता आइपुगेको छ । युक्रेन युद्धको कारण हाम्रो भान्सालाई पनि असर परेको छ । यो बेलामा देशले नीतिगत सुनिश्चितता बनाउँदै गर्दाखेरी हाम्रा अन्तर्राष्ट्रिय सम्बन्धहरु उत्तरको चीनसँग या दक्षिणको भारतसँग अनि पश्चिमको सात समुन्द्र पारीको अमेरिकासँग समेत हामीले हाम्रो जे संवेदनशिलता छ, यो संवेदनशिलतालाई साझा जिम्मेवारी बोध गरिराखेर यी सबै सम्बन्धहरुलाई नेपालको समुन्नतिका लागि एक ठाउँ गाँसेर जान जरुरी छ ।’