'साठी हजार भुटानीलाई मैले अमेरिका पठाइदिएको हुँः'

टोपबहादुरलाई हतार हतार पक्राउ पुर्जी काटियो, तर खास पैसा बुझ्नेहरु पक्राउ परेनन्ः ओली

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले ६० हजार भुटानी शरणार्थीैलाई आफूले अमेरिका पठाइदिएको खुलासा गरेका छन् । आज बुधबारबाट सुरु भएको एमालेको केन्द्रीय समिति बैठकमा उनले नेपालमा राखेर शरणर्थीका बालबच्चाको बिचल्ली बनाउनुभन्दा अमेरिका गए भने उनीहरुको जीवनयापन सहज हुन्छ भनेर आफूले पठाइदिएको बताए । 

ओलीले नक्कलु भुटानी शरणार्थी प्रकरणमा पैसा बुझ्नेहरु अझै पक्राउ नगरिएको तर आफ्नो पार्टीका साँसद टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी गरिएको भन्दै असन्तुष्टि जनाए । उनले भ्रष्टाचार प्रकरणमा उच्च पदस्थ व्यक्तिहरू र एमालेकै नेताहरूको नामसमेत आइरहेको भन्दै जोसुकैको नाम आए पनि दोषी भए कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

Advertisement

एमालेलाई प्रतिशोध राखेर वा पूर्वाग्रहपूर्ण ढंगले फसाउने फसाउने प्रयास भएको अवस्थामा भने एमाले चुप लागेर नबस्ने ओलीको चेतावनी छ । उनले अनुसन्धानलाई अर्कोतिर लैजाने र अनावश्यक रूपमा पूर्वाग्रहपूर्ण ढंगले निर्दोषलाई फसाउने, आरोप लगाउने काम भने हुन नहुने बताए । 

ओलीले भने, ‘अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न व्यक्तिहरूको नाम आइरहेको छ, हाम्रै साथीहरूको नाम पनि परेको छ, यसमा हामी प्रष्ट हुनु जरुरी छ कि भ्रष्टाचार गर्ने कार्यमा जो सुकैको नाम आओस्, यदि दोषी छ भने उसलाई कारबाही हुनुपर्छ । तर जबसम्म मान्छे दोषी ठहर हुदैन, त्यतिबेलासम्म हामीले त्यस्तो आरोप लागेको व्यक्तिलाई दोषी करार गरिहाल्नु हुँदैन ।’

उनले एमालेलाई प्रतिशोधपूर्ण ढंगले वैमनास्यता साँधेको अवस्थाबारे भने आफूहरू सजग हुनुपर्ने बताए । ओलीले थपे, ‘दोषीलाई समातेर कठघरामा ल्याउनुपर्छ । तर कसैलाई फसाउनका लागि अनुसन्धानलाई कतातिर लैजाने भनेर चलखेल भएको, षड्यन्त्र भएको भन्ने प्रयास हुन्छ भने त्यो स्वीकार्य हुँदैन । पूर्वाग्रहपूर्ण ढंगले, निराधार ढंगले आरोप लगाउने र फसाउने, एमालेविरुद्ध लगातार वैमनस्यता प्रकट हुँदै आएको छ, यस्ता कुरामा हामी सजग हुनुपर्दछ ।’

नेता ओलीले राज्यको ढुकुटी छलछाम गरेर खल्तीमा हाल्ने काममा जोकोही भए पनि त्यसको प्रतिरोध गर्नुपर्ने बताउँदै भ्रष्टाचारीको विरुद्वमा कसैले बोल्यो भने उसको मुख थुन्ने प्रयास भइरहेको बताए । अहिले भ्रष्टाचार भन्नेबित्तिकै उसको मुख थुनिदिने प्रवृत्ति मौलाएको उनले बताए । 

ओलीले अनि कसैले उजुरी दियो भने त्यो त भ्रष्टाचारी हो भनेर दोषी करार गरिहाल्ने प्रवृत्ति रहेको बताए । ‘यो सही छैन । अमरेशकुमार सिंहले संसद्‍मा भ्रष्टाचारको विरोध के गरेका थिए कि अहिले उनीविरुद्व अख्तियारमा उजुरी नै परिसकेको छ’ भन्दै उनले कसैले प्रतिशोधमा उजुरी दियो भने हामी पत्याइदिइहाल्ने परपीडक मानसिकता भएको समाज पनि हामीकोमा रहेको छ भने ।

Advertisement

Advertisement