सत्तारुढ कांग्रेस नेता नै भन्छन्– सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो

Advertisement

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि अदालतको आदेश विपरित रेशम चौंधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाएका छन् । 

शनिबार कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा उनले दण्डहिनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीन वटै तहको अदालतको आदेश विपरित चौंधरीलाई आममाफी दिने कुराले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउने बताए । 

Advertisement

कोइरालाले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए । निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि नै प्रश्न उठने गरी सरकारले सो निर्णय गरेकाले आफूहरुले विरोध गर्नु परेको उनले बताए । 

नेता कोइरालाले प्रजातन्त्रलाई मजबुत पार्नका लागि पनि जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको मातहत राख्ने काम गर्न नहुने पटक पटक दोहोर्याए । उनले भने, ‘अहिले निर्वाचन आयोगलाई हामीहरुले स्वतन्त्र र निष्पक्ष निर्वाचन आयोग बनाउनु पर्छ भनेर भनिराखेका छौं । र, हुन पनि पर्छ । निर्वाचन आयोगलाई सिडियोको मातहतमा लगेर एउटा कोठामा लगेर राख्ने । त्यसले लोकतन्त्र मजबुत हुन सक्दैन । लोकतन्त्र मजबुत हुनका लागि निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष हुन जरुरी छ भन्ने कुरा पनि तपाईंहरुमाझमा राख्न चाहान्छु ।’ 

कोइरालाले थपे, ‘सुशासन, पारदर्शीता, जवाफदेहिता र उत्तरदायित्व यी कुराहरु कुनै पनि लोकतन्त्रलाई सुदृढ गर्न बनेको हुन्छ । हामी कहाँ दण्डहिनताको पनि कताकता बढदै गएकोमा मलाई चिन्ता लागिरहेको छ । अहिले भर्खरै हेनुस् । तीन अदालत उच्च अदालत, जिल्ला अदालत, सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मशी सुक्न नपाउँदै माफी दिनु भयो । हामी जस्ताले त्यसलाई कसरी हेर्ने ? यी कुराहरु अत्यन्त गम्भिर हुन्छन भोलीका दिनमा । सरकार टिकाउनका लागि यी कुराहरु गर्दाखरी लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ । हामीले राजनीतिक स्वतन्त्रता छ पायौं । संविधान पायौं नि । तपाईहरु, हामीहरु सबै खुशी छौं । तर आर्थिक, सामाजिक, सांस्कृतिक विविधताहरु अहिले पनि अप्ठ्यारोमा परेका छन ।’

उनले काँग्रेस कमजोर भएको हिन भावना लिएर नबस्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । अतितबाट सिक्ने सके काँग्रेस कमजोर हुने कुनै कारण नरहेको कोइरालाले बताए । 

Advertisement

Advertisement