देश जोगाउन भूतपूर्व सैनिकहरु आन्दोलनमा आइदिनुस्ः राजेन्द्र लिङदेन

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले देशका नदीनालाहरु भारतलाई सुम्पने काम गरेको आरोप लगाएका छन् । 

राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनको कार्यक्रमा शनिबार उनले दाहालको भारत भ्रमणप्रति संकेत गर्दै भारतको नयाँ संसदमा नेपालको भूमि सामेल गरिएको नक्सा राख्दा पनि किन त्यसो गरिएको भनेर प्रधानमन्त्री दाहालले प्रश्न गर्न नसकेकोमा आपत्ति जनाए । 

Advertisement

लिङदेनले देश संकटमा परेको जिकीर गर्दै त्यसको सुरक्षाका लागि आन्दोलनमा आउन पनि भूतपूर्व सैनिकहरुलाई आह्वान गरे । तपाईंहरुले बन्दुक बोकेर सुरक्षा गरेको देश संकटमा परेकाले जोगाउनका लागि तपाईंहरुको साथ चाहिएको छ भन्दै उनले भूतपूर्व सैनिकहरुलाई आन्दोलनमा आउन आव्हान गरे । 

लिङदेनले राजसंस्था, हिन्दु राष्ट्रको पुनस्र्थापना र संघीयताको खारेज गर्न चाहने हरेक नेपालीको पार्टी भनेकै राष्ट्रिय प्रजातन्त्र पार्टी भएको दावी पनि गरे । उनले भने, ‘यो लडाईँ देश जोगाउने लडाईँ, धर्म जोगाउने लडाईँ, यो लडाइँमा उभिनु पर्ने भयो । यसमा एकचोटी तपाईंहरुको साथ चाहियो । सहयोग चाहियो भनेर म अपिल गर्न चाहान्छु । तपाईंहरुले हिजो बन्दुक बोकेर सुरक्षा गरेको देश, धर्म संकटमा गयो ।’ 

उनले थपे, ‘आज हेनुर््स त, देशको जिम्मा लिएको राजनीतिक दलहरु र व्यक्तिहरुका क्रियाकलाप कस्तो प्रकारका छन् ? देशका नदीनालाहरु विदेशीलाई जिम्मा लगाउन पाउँदाखेरी उपलब्धि ठान्न थालेका छन् । आफ्नो भ्रमणको मुखैमा, आफ्नो देशको भूभाग समेत अंकीत गरेर छिमेकीले आफ्नो नक्शामा प्रकाशित गर्दाखेरी यो किन भयो भनेर प्रश्न गर्न नसक्नेहरुको हातमा आज देशको नेतृत्व छ । तपाईहरुले दुःख गरेर, सुरक्षा गरेर जोगाएको देश भोली तपाईको भावी सन्ततिले देख्न नपाउने खतराहरु बढेर गएको छ । कसैले पनि नेपालमा राजा चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ । यो संघीयता खारेज हुनुपर्छ भन्ने चाहना राख्नु हुन्छ भने त्यो मानिसका लागि अर्को कुनै पार्टी छैन । अर्को कुनै विकल्प छैन ।’

लिङदेनले भूतपूर्व सैनिकहरुका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्प नभएको बताए । उनले देश संकटमा पर्दा, हिन्दु धर्म संकटमा पर्दा भूतपूर्व सैनिकहरुले चुप लागेर बस्न नमिल्ने पटक पटक दोहोरयाए । 

Advertisement