एमालेले चाहेमा एक हप्ताभित्र सरकार ढाल्दिन्छः महेश बर्तौला

Advertisement

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने बताएका छन् । बुधवार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले एमालेले चाहेमा एक हप्ता भित्रमा सरकार ढाल्ने दावी गरेका हुन् । 

बर्तौलाले यो सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताए । यद्यपी सरकार एमालेको प्रयत्नले ढल्ने नभइ गठबन्धनभित्रकै अन्तरबिरोध, असमझदारी र अविश्वासले ढल्ने उनले बताए । बर्तौलाले एमालेले प्रतिपक्ष दलहरुको मोर्चा नबनाउने पनि बताए । 

Advertisement

बर्तौलाले एमालेले आफ्नै सामथ्र्य र जनताको आदेशका आधारमा संसदमा भुमिका निर्वाह गर्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताबाट हट्नुपर्ने हो कि भन्ने त्रासका कारण समाजवादी मोर्चा बनाएको बताए । बर्तौलाले समाजवादी मोर्चा बनाउनुले देशलाई अन्यौलता र अस्थिरतातर्फ लान मद्दत पुर्याउने बताए ।

उनले भने, ‘नेकपा (एमाले)ले यस प्रकारको मोर्चा बनाएर हिँड्नुपर्ने जरुरी छैन । एमाले आफ्नो सामथ्र्यका साथ, जनताले दिएको म्याण्डेटको बलमा संसदमा आफ्नो भुमिका निर्वाह गरिरहेको छ । नागरिकहरुको मुद्दालाई केन्द्रमा राखेर, राष्ट्र हीतको विषयलाई केन्द्रमा राखेर हाम्रो उपस्थिति देखाइरहेका छौँ । यो सरकारलाई हामीले कुनै मेहनत गर्नुपर्दैन । यदी नेकपा(एमाले)ले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ । यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो । भोलिपल्ट, अर्को एक दिनको लागि हो । कतिखेर यो सरकार ढल्ने, एमालेको कारणले, एमालेको प्रयत्नले होइन । उहाँहरु बिचको अन्तरबिरोध, असमझदारी छ, जुनखालको अविश्वास छ, त्यसको कारणले गर्दा पनि यो सरकार लामो समय टिक्दैन भन्ने तथ्यले प्रमाणित गरिसकेको छ ।’ 

बर्तौलाले थपे, ‘यदी यसो हुँदैन थियो भने स्वयं यो सरकारको प्रधानमन्त्रीले सरकारभित्र बसेर अर्को मोर्चाबन्दी र अर्को गुट निर्माण गर्नुपर्ने कुनै जरुरी थियो ? किन गर्नुभयो भन्दा उहाँहरुको आयु, उहाँहरुको पद जतिखेर पनि धरापमा छ । त्रासमा हुनुहुन्छ । त्रासका कारणले अनेकौँ खालका गुट निर्माण गरेर हिँडिरहनुभएको छ । यसले देशलाई अन्योलतातर्फ, अस्थिरतातर्फ लानलाई मद्दत पु¥याउँछ । राजनीतिक असमझदारी, राजनीतिक अन्यौलता सिर्जना गर्न यसले भुमिका निर्वाह गरेको छ ।’
उनले समाजवादी मोर्चा गठबन्धनभित्रको एउटा गुट भएको बताए । यसले देश र जनताको हीतमा काम नगर्ने टिप्पणी बर्तौलाको छ । उनले मोर्चामा आवद्ध दलहरु बीचको प्रेम ‘गैँडाको प्रेम चटाइ’ भएको बताए । 

बर्तौलाले भने, ‘उहाँहरुको गठबन्धनको सरकार छ । गठबन्धन आफैँमा एउटा मोर्चा बनाएर उहाँहरु हिँडिरहनुभएको छ । त्यो मोर्चाभित्र पनि अर्को एउटा गुट निर्माण गर्नुभयो । यसले के देखाउँछ भने प्रचण्ड प्रत्येक दिन काँग्रेससँग तर्सेर बसिरहनुभएको छ । काँग्रेससँग तर्सेको, एमालेसँग डराएको र स्वार्थहरुले भरिपूर्ण भएको उहाँहरुको यो केन्द्र हो । यसको जनताको हीतसँग, राष्ट्रको हीतसँग सम्बन्ध रहन्छ भन्ने मलाई लाग्दैन् ।’ 

उनले थपे, ‘मोर्चाका पार्टीहरुको आ–आफ्ना एजेण्डा छ । संविधानकै कार्यान्वयनकै बारेमा पनि फरक फरक दृष्टिकोण र मान्यता रहेका छन् । त्यस आधारमा उहाँहरुले भुमिका पनि गरिरहनुभएको छ । यो उहाँहरु बीचमा गैडाको प्रेम चटाइ हो । गैँडाले प्रेम गरेर चाट्दा जिउको छाला जान्छ । त्यो चटाइको कुनै अर्थ छैन । यो कुनै संसदको समग्र प्रक्रियालाई बलियो बनाउन, सरकारको नियमित काम, गतिबिधि, क्रियाकलापहरुलाई देश र जनताको हितको पक्षमा उभिएर अगाडी बढाउन यो मोर्चाबन्दी गरिएको छैन । स्वार्थलाई केन्द्रमा राखेर, पद, प्रतिष्ठाभन्दा बाहिर उहाँहरुको अभिष्ट छैन ।’

सचेतक बर्तौलाले पर्यटनमन्त्री सुदन किरातीले अघोषित रुपमा पहिचानवादी आन्दोलनकारीहरुलाई समर्थन छ भन्ने सन्देश दिएको आराप लगाए । उनले मन्त्री पदबाट राजीनामा दिएर पहिचानवादीहरुलाई समर्थन गर्न उनले सल्लाह पनि दिए । 

Advertisement

Advertisement