बालेन शाह र हर्क साम्पाङलाई पनि स्वतन्त्र पार्टीमा प्रवेश गराउन पाए हुन्थ्योः लामिछाने

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाज परिवर्तनको लागि तयार भएको कुरा मतपत्रमा जायर हुन थालेको बताएका छन् । 

बिहीवार आफ्नो पार्टीको केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा उनले समाज परिवर्तनका लागि तयार भइसकेको कुरा मतपत्रमा जायर हुन थालेको बताएका हुन् । त्यसको स्पष्ट संकेत देखिइसकेको लामिछानेले बताए । 

Advertisement

उनले आफ्नो पार्टीको एक वर्षको यात्रा सौहार्दपूर्ण र सकारात्मक रुपमा बितेको बताउँदै स्वतन्त्र पार्टीलाई जनताले आशा र भरोसाको रुपमा लिएको बताए । लामिछानेले भने, ‘अत्यन्त सकारात्मक, अत्यन्त ऊर्जावान, नेपाली जनताले एउटा आशा र भरोसाका रुपमा हेरेको यात्राको रुपमा मैले पाएको छु । शुरुवात गर्दाखेरी हामीलाई विश्वास त थियो । तर त्यो विश्वास मतमा बदलिन्छ कि बदलिँदैन भन्ने कुराको त्यतिधेरै हेक्का थिएन । समाजले परिवर्तन खोजेको छ भन्ने कुराको जानकारी त विभिन्न माध्यमबाट हामीलाई थियो । तर साँच्चिकै समाज अब परिवर्तनका लागि तयार नै भएको हो र त्यो तयार भएको कुरा मतपत्रबाट नै जायर गर्छ भन्ने कुराको एउटा स्पष्ट संकेत, हाम्रो भाषामा घन्टी बजि नै सकेको छ । यो एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रह्यो । यसलाई अत्यन्त सकारात्मक रुपमा हेरेको जानकारी गराउँछु ।’

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ स्वतन्त्र पार्टीमा आए असाध्यै राम्रो हुने बताए । लामिछानेले आफ्नो सम्बन्ध दुवै जनासँग सौहार्दपूर्ण रहेको उल्लेख गर्दै दुवैको कामको प्रशंसा आफूले गरिरहेको बताए । दुई जनालाई पार्टी प्रवेश गराउन सके खुशीको कुरा हुने उनको भनाई छ । 

लामिछानेले भने, ‘यो त राम्रो हुन्थ्यो त्यस्तो साथीहरुलाई हामीले जोड्न सके त असाध्यै राम्रो हुन्थ्यो । त्यो त हाम्रो चाहाना छदैछ । चाहना अनुरुप अन्य साथीहरुले पनि त्यसैगरी सोचिदिनु भयो भने त, हाम्रो तर्फबाट त सय प्रतिशत सकारात्मक छँदैछौँ नि । सम्बन्धका हिसावले पनि हाम्रो सौहार्दपूर्ण सम्बन्ध छ । उहाँहरुको कामको हिसावले पनि मैले त निरन्तर रुपमा उहाँहरुको कामको प्रशंसा गरेकै छु । चुनाव लड्दादेखि सघाएदेखि अहिलेसम्म निरन्तर उहाँहरुको राम्रो काममा सघाउने काममा निरन्तरता दिएकै जस्तो लाग्छ मलाई । त्यो आफैँमा राम्रो संकेत बन्नसक्यो र हुन सकेछ भने हाम्रो लागि त्यो खुशीको कुरा हुनेछ ।’
उनले आफूहरु संगठन निर्माण र सुदृढिकरणमा लागिरहेको बताउनु भयो । कार्यक्रममा बोल्दै आजै पार्टी प्रवेश गरेका अनिलकेशरी शाहले पार्टी सभापति रवि लामिछाने र आफ्नो सोच मिलेको कारण आफू पार्टी प्रवेश गरेको बताए । उनले देशमा नेतृत्वको अभाव रहेको कुरा आफूले महशुस गरेको भन्दै नेतृत्व विकासको सीप प्रयोग गर्नका लागि पार्टीमा आएको बताए । 

Advertisement

Advertisement