काठमाडौं । रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौति गर्न उपयुक्त नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उनले बहुप्रकृतिको जिम्मेवारीलाई हेर्दा नेपाली सेनाको संख्या कायमै राखेर अघि बढन सान्दर्भिक हुने बताएका हुन् ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका साँसद स्वर्णिम वाग्लेले सेनाको संख्या घटाउनुपर्ने तर्क अघि सारेका थिए । सोही कुरामा जवाफ दिँदै मन्त्री खड्काले भने, ‘हाम्रो नेपाली सेनाको संख्या, हामीले उसलाई दिएको जिम्मेवारी बहु प्रकृतिका विभिन्न जिम्मेवारीलाई जोडेर हेर्दा सान्दर्भिक हुन्छ भन्ने म निवेदन गर्न चाहन्छु ।’
उनले थपे, ‘त्यस सन्दर्भमा विश्वको बदलिँदो सुरक्षा परिवेशमा प्रत्येक राष्ट्रले आ–आफ्नै किसिमका सुरक्षा चुनौति तथा खतराहरुको सामना गर्नु परिरहेको छ । बाह्य आक्रमण, आन्तरिक द्वन्द्व, आतंकवाद, आर्थिक संकट, महामारी लगायतका सुरक्षा चुनौतिहरुले मानव जीवनमा नै कठिनाई निम्त्याईरहेका अवस्थाहरु छन् ।’
खड्काले विश्वमा बढ्दो सुरक्षा चुनौतिलाई सामना गर्नेगरी नेपाली सेनाको संगठनलाई सुदृढीकरण गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।