लुम्बिनीमा पर्यटक बढाउन सिद्धार्थनगर होटल संघको प्रतिनिधिमण्डल श्रीलंका प्रस्थान

Advertisement

 काठमाडौं । श्रीलंकाली धार्मिक पर्यटक लुम्बिनी भ्रमण गर्न सिद्धार्थनगर होटल संघ नेपालको प्रतिनिधिमण्डल श्रीलंका प्रस्थान गरेका छन् । कोरोना महामारीपछि श्रीलंकाली धार्मिक पर्यटक लुम्बिनी भ्रमण गर्न उत्साहित रहेको र भ्रमणबारे सोधपुछ बढिरहेको परिप्रेक्ष्यमा सिद्धार्थनगर होटल संघ श्रीलंकाली जनतासामु व्यापक प्रचारप्रसारका लागि आज मंगलबार सिद्धार्थनगर होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको नेतृत्वमा १८ सदस्यीय होटल व्यवसायीको टोली प्याकेजसहित श्रीलंका प्रस्थान गरेको हो । 

उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीको विशेष सहभागिता रहेको छ भने नेपाल पर्यटन बोर्डको समेत सहभागिता रहेको जनाइएको छ । प्रतिनिधिमण्डललाई कोलम्बो–भैरहवा सिधा उडानका लागि पहल हुन सुझाव दिँदै होटल संघ नेपालका अध्यक्ष विनायक शाहले प्रतिनिधिमण्डललाई विमानस्थलबाट बिदाई गरेका हुन् । जुन २७ देखि जुलाई २ सम्म श्रीलंकाको कोलम्बो र क्यान्डीमा तय गरिएको कार्यक्रममा त्यहाँका छुट्टाछुट्टै सहरका प्रतिष्ठित पर्यटन व्यवसायी, एक सयभन्दा बढी टूर अपरेटर तथा श्रीलंकाली सरकारी विशिष्ट अधिकारी, श्रीलंकाका लागि नेपाली राजदूतको उपस्थितिमा लुम्बिनी महोत्सव कार्यक्रम तथा बीटुबी कार्यक्रम गरिने जनाएको छ ।

Advertisement

उक्त अवसरमा श्रीलंकाली सरकारी निकायसँग गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सम्पर्क बढाउनका लागि पनि विशेष पहल हुने बताइएको छ । होटल संघ नेपाल र सिद्धार्थनगर होटल संघले २०२३ मा आयोजना गर्न लागेको लुम्बिनी महोत्सव कार्यक्रमलाई यसबाट थप मद्दत पुग्ने तथा सरकारबाट घोषित पर्यटन दशक २०२३ मा १० लाख पर्यटन भित्राउने लक्ष्य हासिल हुने विश्वास व्यक्त गरिएको छ । 

सरकारबाट २०२५ लाई पर्यटन वर्ष घोषणा गरेसँगै यसलाई सफल र सार्थक बनाउनका लागि होटल संघ नेपाल केन्द्र तथा क्षेत्रीय संघले अहिलेदेखि नै गृहकार्य शुरु गरेको छ । हालै होटल संघ नेपालले श्रीलंका जस्तै अर्को सम्भाव्य बजार बंगलादेशको ढाकामा जुन १९ देखि २३ सम्म नेपाल पर्यटन प्रवद्र्धनात्मक नेपाल साँझ तथा बीटुबीे कार्यक्रम सम्पन्न गरी स्वदेश फर्किसकेको छन् । 

Advertisement

Advertisement