पुस्तक विमोचनमा मैले बोलेको कुरालाई लिएर बबण्डर मच्चाउन खोजियोः प्रधानमन्त्री

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचनमा सरदार प्रितम सिंहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबण्डर मच्चाउन खोजिएको तर्क गरेका छन् । 

बुधवार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रममा उनले सोमवार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’ (द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा प्रितम सिंहले बोलेको कुरा आफूले बोलेको भए पनि त्यसमाथि नै बबण्डर मच्चाउन खोजिएको तर्क गरेका हुन् । 

Advertisement

दाहालले आफूले पुस्तक विमोचन कार्यक्रममा उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै नभइ राजनीतिमा पनि चासो राख्ने व्यक्ति भएको र आफूलाई प्रधानमन्त्री बनाउनका लागि कहिले दिल्ली, कहिले नेपालका पार्टीहरुसँग लाग्नुहुन्थ्यो भन्ने अभिव्यक्ति दिएको बताए । 

उनले बेलुनरुपी बबण्डर चाँडै फुट्ने पनि बताए । दाहालले यस कुराले विपक्षीमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ भन्नेकुरा प्रमाणित गर्ने बताए । उनले भने, ‘अब आज म सुन्दैछु, एउटा किताव विमोचन गर्दै गर्दा मैले बोलेको, उसले बोलेको कुरा मैले बोलेको, मेरो कुरा होइन । उसले बोलेको । मैले भने उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै होइन, राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ । उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ, कहिले कहाँ पुग्नुहुन्छ, कहिले दिल्ली, कहिले नेपालका पार्टीहरुसँग लाग्नुहुन्थ्यो उहाँ भन्ने उहाँको बारेमा भनेको कुरालाई अब त्यसलाई उचालेर फेरि एक पटक बबण्डर गर्न खोजिएको छ, त्यो बेलुन पनि छिटै फुट्नेवाला नै छ । त्यसले केही दिनेवाला छैन । हाम्रा विपक्षीमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ भन्नेकुरा देखिन्छ ।’

दाहालले चाँडै नै माओवादीहरु एउटै केन्द्रमा आउने र सबै संगठन एउटै केन्द्रमा आएर नयाँ समाजवादी आन्दोलन शुरु गर्ने बताए । उनले जनताका मुद्दा बोकेर हिँड्दा सरकारबाट कसैले हल्लाउन नसक्ने बताए । दाहालले २०८४ को निर्वाचनमा २०६४ सालमा जितेको सिट भन्दा बढी जित्ने दाबी गरे । 

Advertisement

Advertisement