दिल्लीले नेपालको प्रम बनाउने दाहालको भनाईको संसदमा पनि चर्को विरोध, राजीनामा मागियो

Advertisement

काठमाडौं । नेपालको प्रधानमन्त्री नयाँ दिल्लीले बनाउने प्रधानमन्त्री पुष्पकमल दाहालको विवादास्पद अभिव्यक्तिको संसदमा पनि चर्को विरोध भएको छ । नेकपा एमालेसहितका दलहरुले संसदमा नाराबाजी गर्दैै अवरोध गरेपछि बैठक स्थगित गर्न सभामुख देवराज घिमिरे बाध्य भएका थिए । 

संसदमा प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै राजीनामा नआएसम्म संसद अघि बढ्न नसक्ने बताएको छ । दाहालले नेपालको स्वाभिमान माथि आघात पुर्याउने अभिव्यक्ति दिएको भन्दै एमालेले दाहालको राजीनामाको माग गरेको हो । 

Advertisement

प्रधामन्त्री दाहालले सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक नयाँ दिल्ली गएको भन्ने अभिव्यक्ति दिएका थिए । संसदमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको अभिव्यक्तिले सिंगो नेपालको मन रोएको र स्वाभिमान गिरेको बताए । 

उनले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद बैठक अगाडी बढाउन नदिने बताए । पन्तले भने, ‘यी विषयहरुको बारेमा प्रधानमन्त्रीले आज देशलाई के जवाफ दिनुहुन्छ ? देशले उहाँको त्यो अभिव्यक्ति बारे प्रश्न सोधिरहेको छ । मेचीदेखि महाकालीसम्म आज यो प्रश्न सोधिरहेको छ । आज मैले दुःखका साथ भन्नुपर्छ नेपाली जनतालाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको हो । देशको हक, हीत र स्वाभिमानको रक्षा, टेबुलमा वार्ता गर्दाखेरी त्यसको पक्षमा अडान लिनसक्ने प्रधानमन्त्री चाहिएको हो । लेन्डुप दोर्जेको नेपाली संस्करण चाहिएको होइन । त्यसैले यो विषय क्लियर नभएसम्म प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो संसद अब अगाडी बढ्न सक्दैन । देशले उहाँको राजीनामा खोजेको छ । म उहाँको राजीनामा माग्छु । हाम्रो दलको तर्फबाट उहाँको राजीनामाको माग गर्छ ।’
 

Advertisement

Advertisement