स्वतन्त्र पार्टी अलमलमा, हामीले प्रधानमन्त्री दाहालको राजीनामा मागेको छैन्ः झा

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको बताएका छन् । 

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको बेला संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दाहालको राजीनामा माग गरे पनि स्वतन्त्र पार्टी भने अलमलमा देखिएको हो । उक्त पार्टी आजको संसद बैठकमा भने दाहालको अभिव्यक्तिको विरोधमा उत्रिएको थियो । 

Advertisement

दाहालले नेपालको प्रधानमन्त्री नयाँ दिल्लीले बनाउने आशयको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । आज संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले एमालेले प्रधानमन्त्रीको राजीनामा मागे पनि आफूहरुले नमागेको बताए । 

यद्यपि दाहालको अभिव्यक्ति संसद, प्रजातन्त्र र निर्वाचन प्रक्रियालाई अवहेलना गर्नेगरी आएको उनले स्वीकार गरे । दाहालको भनाई प्रति स्वतन्त्र पार्टीको प्रश्नहरु रहेको र सोही प्रश्नका लागि संसद बैठकमा उठेको बताउँदै झाले भने, ‘हामीले बोल्नै पाएका छैनौँ भनेपछि हामीले के माग्यौँ भन्नेकुरा कसरी आँकलन गर्नुहुन्छ ? एकैतिर बसेको भएकोले उहाँहरु पनि उठ्नुभयो । हामी पनि उठ्यौँ । तर हामी फरक बेन्चमा बस्छौँ । उहाँहरु फरक तरिकाले बस्नुहुन्छ । उहाँहरुको राजनीतिक अस्तित्व र परिचय सदनमा फरक छ । त्यसैले गर्दा मिडियाले पटक–पटक हामीलाई एमालेसँग जोडेर जुन हाम्रो परिचय स्थापित गर्न खोजिरहेको छ, त्यो गलत हो ।’ 

Advertisement

Advertisement