मैले बोलेको कुरा ‘भावनात्मक’ मात्रै हो, स्पष्टीकरणको मौका समेत दिइएन्ः प्रम दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय व्यापारी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा बोलेको विवादास्पद अभिव्यक्ति ‘भावनात्मक’ भएको तर्क गरेका छन् । 

दाहालको सचिवालयले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई स्पष्टीकरणको समेत मौका नदिई एकपक्षीयरुपमा प्रचार गर्नु गलत भएको बताएको हो । नेपालको प्रधानमन्त्री नयाँ दिल्लीले बनाउने आशयको अभिव्यक्ति दिने क्रममा दाहालले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक नयाँ दिल्ली गएको बताएका छन् । उक्त भनाईको संसदमा मात्रै नभएर सामाजिक सञ्जालमा पनि चर्को विरोध भइरहेको छ । 

Advertisement

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा अवरुद्ध गरेको छ । एमालेले प्रधानमन्त्रीको राजीनामा समेत मागेको छ । बिहीबार बसेको सत्तारुढ दलहरुको बैठकले दाहालले राजीनामा दिनुनपर्ने भन्दै संसद फेस गर्ने निर्णय गरेको छ ।

बैठकपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई अपव्याख्या गरिएको तर्क गरे । वक्तव्यमा उनले माओवादी शान्ति प्रक्रियामा आएसँगै दाहालसँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको र २०६७–६८ सालमा सिंहको जेठी छोरी ज्ञानुको उपचार गर्ने क्रममा दिल्लीस्थित घरमा बसेकाले दाहाल र प्रितमको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिक समेत भएको जिकिर गरिएको थियो । 

दाहालसँग भएका अनौपचारिक भेटघाटका क्रममा सिंहले ‘तपाईंजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदासयता व्यक्त गर्ने गरेको र पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले यही विषय प्रसंगबस उल्लेख मात्र गरेको भन्दै  दाहालले सचिवालयले वक्तव्यमा भनेको छ, ‘यसैक्रममा सिंह दिल्लीस्थित आफ्नै घरमा पटकपटक आउजाउ गर्दा भएका पारिवारिक सम्वादमा सिंहले व्यक्त गरेका विषयसमेत प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गर्नुभएको हो । सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावनात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु निरर्थक र दुःखद् छ ।’

दाहालले संसदबाट निर्वाचित प्रधानमन्त्री सदैव संसदप्रति जवाफदेही रहेको दाबी गर्दै संसदमा प्रष्टीकरणको मौकासमेत नदिई आफ्नो भनाइको आसय विपरीत एकपक्षीय ढंगले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । 

सरकारको कामका कारण ‘गरे हुने रहेछ’ भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय भएको उनको तर्क छ । 

Advertisement

Advertisement