प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर राष्ट्रियसभा तेस्रो दिन पनि अवरुद्ध

Advertisement

काठमाडौं । राष्ट्रियसभा बैठक शुक्रबार (तेस्रो) दिन पनि अवरुद्ध भएको छ । शुक्रबार पनि बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेपछि राष्ट्रियसभा बैठक असार २४ गते आईतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्नेगरी स्थगित गरियो । 

बैठकमा बोल्दै एमालेकी सांसद विमला घिमिरेले आफ्नो पार्टीले कुनै आग्रह, पूर्वाग्रह र कुण्ठाले भन्दा पनि राष्ट्र र जनताको स्वाभिमान र संसदको गरिमाको रक्षा गर्नका लागि प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद बैठक चल्न नदिने अडान लिनुपरेको बताइन् । 

Advertisement

उनले प्रधानमन्त्रीले आफ्नो पदका लागि आत्मसमर्पण गरेकाले उनलाई नेपाली जनतालाई शासित गर्ने अधिकार नरहेकोे जिकीर समेत गरिन् । देशकै सम्मानित पदमा पुगेका प्रधानमन्त्रीले भारतीय नागरिक प्रितम सिंहबारे दिएको नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रियता, स्वाधिनता र भौगोलिक अखण्डता र नेपाली जनताको स्वभिमानमाथि आँच आउने गरी दिएको यो अभिव्यक्तिले सारा स्वाभिमानी नेपालीहरुको शीर झुकेको घिमिरेको दावी थियो । 

उनले भनिन्, ‘प्रधानमन्त्रीको अभिव्यक्तिले आज हाम्रो सामाजिक सञ्जाल मात्रै होइन्, पूर्व मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म निकै विरोध भईरहेको छ । र, नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रियता, स्वाधिनता र भौगोलिक अखण्डता र नेपाली जनताको स्वभिमानमाथि आँच आउने गरी दिइइको यो अभिव्यक्तिले सारा स्वाभिमानी नेपालीहरुको शीर झुकेको छ ।’

एमाले सांसदहरुले उठेर अवरोध गरेपछि अध्यक्ष गणेश तिमिल्सिनाले सदन सुचारु गराउन पटकपटक आग्रह गरेका थिए । तर आफ्नो अडानबाट एमाले सांसदहरु पछि नहटेसम्म अध्यक्ष तिमिल्सिनाले बैठक स्थगित गरे । 

Advertisement

Advertisement