काठमाडौँ । आफ्नो विवादास्पद अभिव्यक्तिको चर्को विरोध भइरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहालले गोलमटोल जवाफ दिएका छन् । उक्त अभिव्यक्ति स्वर्गीय भइसकेकी जेठी छोरीसँग जोड्दै आफू बढी भावनात्मक भएकाले उक्त कुरा बोलेको तर्क गरेका छन् ।
भारतीय व्यापारी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक नयाँ दिल्ली गएको अभिव्यक्ति दिएपछि दाहाल विवादमा फँसेका थिए । उक्त अभिव्यक्तिप्रति गल्ती महसुस गर्दै उनले ‘सेन्टिमेन्ट’मा आएर बालेको बताएका छन् ।
दाहालले भने, ‘म थोरै भावनामा आएँ । मनमा आयो भनेँ । त्यसैले त प्रचण्ड हो, त के गर्नुहुन्छ ? प्रधानमन्त्रीको रूपमा मैले त्यो भाषा बोल्नुहुन्नथ्यो । त्यो दिन म ज्ञानुको बुवा भएर बोलेको थिएँ ।’
आफ्नो भावनात्मक शैली रहेको र यो आफ्नो कमजोरी रहेको बताउँदै उनले आफ्नो एउटै भावनात्मक अभिव्यक्तिका कारण आफ्नो अहिलेसम्मको योगदान कुनै काम नलाग्ने नभएको हो ? भन्दै प्रश्न गरे ।
प्रतिपक्षी दलले माग्दैमा राजीनामा दिनु जरुरी नरहेको पनि उनले बताए । दाहालले आफ्नो अभिव्यक्ति आएपछि उठेका प्रश्न तथा टिप्पणीको स्पष्टीकरणका लागि पहिले नै तयार भए पनि मौका नदिइएको बताए । दाहालले प्रमुख प्रतिपक्षी दल एमालेलाई लक्षित गर्दै यसरी राजीनामा माग्नु प्रजातान्त्रिक पद्दति नभएको पनि बताए ।
राजीनामा माग गर्दै संसद्‍ अवरुद्ध पारिएकोमा उनले असन्तुष्टि व्यक्त गरे । दाहालले भने, ‘म त सुरूदेखि स्पष्ट पार्नकै लागि पर्खिएर बसेको थिएँ । राजीनामा नआएसम्म संसद् चल्न दिइँदैन भनियो । के यही यो संसदीय अभ्यास ? एकचोटि मैले यो सदनसमक्ष भन्न पाउनुपर्दैन ? किन तीन दिनसम्म सदन अवरुद्ध गरियो ?’