‘हामीले जसरी जेलनेल र प्रहरीको लाठी खानुपर्यो भने नयाँ पार्टी कति टिक्छन् ? हेरौंला’

Advertisement

काठमाडौं । अर्थमन्त्री एवं नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले पूराना पार्टीहरुले केही गरेनन् भनेर नयाँ आएका पार्टीहरु टिक्न नसक्ने चेतावनी दिएका छन् । 

शनिवार काठमाडौंमा भएको एक कार्यक्रममा उनले यिनीहरुले केही गर्दैनन् भनेर आएका नयाँ पार्टीहरु धेरै समय नटिक्ने दाबी गरेका हुन् । महतले दुःखमा, सुखमा १० औं वर्ष जेल, प्रवासन, पुलिसको लाठी डन्डा सहेर पुराना पार्टीहरु निर्माण भएको भन्दै यस्तै समस्या नयाँ प्रवृत्तिहरुले भोग्नुपर्यो भने कति टिक्छन् ? हेरौँला ? भन्दै प्रश्न गरे । 

Advertisement

उनले भने, ‘जताजता पात हल्लियो, त्यता त्यतै कुरा हामी गर्दैनौँ । अहिले नयाँ नयाँ प्रवृत्तिहरु यिनीहरुले गर्दैनन्, हामी गर्छौं भनेर आएका छन्, टिक्दैनन् । हामी दुःखमा, सुखमा १० औं वर्ष जेल, प्रवासन, पुलिसको लाठि डन्डा सहेर अफ्ठ्यारोमा, झरीमा पनि खटेर बनेको पार्टी हो नेपाली काँग्रेस । यस्तै समस्या नयाँ प्रवृत्तिहरुले भोग्नुपर्यो भने कति टिक्छन् ? हेरौँला ।’

महतले पार्टीका महामन्त्रीहरुप्रति लक्षित गर्दै पार्टी र पार्टीका नेताको आलोचना पार्टीको केन्द्रिय समितिमा गर्न चुनौति दिए । उनले सामाजिक सञ्जालमा पार्टीको आलोचना गरेर पार्टी निर्माण हुन नसक्ने दाबी गरे । महतले पार्टीप्रतिको आलोचनाका कारण जनताहरु के हो काँग्रेस भनेको भन्ने स्थितिमा पुगिसकेको बताए । उनले पार्टीका नेताहरुको आलोचना सामाजिक सञ्जालमा नगर्न आग्रह गरे । 

महतले भने, ‘हामी पार्टीका सबै नेताहरु एक अर्काको आलोचना गर्न धेरै समय खर्च गर्छौं, नेतृत्वलाई नै खसाल्न हामी धेरै समय खर्च गर्छौं । हामी पार्टीको नेतृत्वलाई नै आलोचना गर्न धेरै समय खर्च गर्दछौँ । यसमा धेरै समय खेर फाल्यौँ भने अहिले त सामाजिक सञ्जालको जमाना छ, हरेकको घरघरमा पुग्छ, यिनीहरु त आफैँ झगडा गरेर बसिरहेका छन्, यिनीहरुको पार्टीमा कनि लाग्ने भन्छन् की भन्दैनन्, त्यसैले केन्द्रिय समितिको बैठक २ गतेलाई तोकिएको छ । त्यहाँ भनौँ, जिल्ला समिति छ, त्यहाँ भनौ, क्षेत्रीय समिति, गाउँ, नगर समिति छ त्यहाँ भनौँ । त्यहाँबाट निस्कर्ष निकालेर पार्टीको मात्रै कुरा गरौँ । त्यहाँ नभन्ने तर बाहिर भनेको भन्यै गर्ने प्रवृत्तिले पार्टी बलियो हुँदैन, जनता दुविधामा पर्छन्, के हो नेपाली काँग्रेसले भनेको बुझिँदैन । हामीले सामाजिक सञ्जालमा पार्टी नेतृत्वको कुरा बहस गर्ने होइन, संयन्त्रमा छलफल गर्ने हो ।’ 

मन्त्री महतले सरकार सशुासन, आर्थिक परिवर्तन, रुपान्तरणको पक्षमा रहेको बताए । उनले आर्थिक रुपान्तरण, विकासको लागि अफ्ठ्यारो समयमा अफ्ठ्यारो निर्णय पनि लिनसक्ने बताए । 

Advertisement

Advertisement